पोखरा । कास्की प्रहरीले एक महिनाको अवधिमा ४८ जना फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कात्तिक १ गतेदेखि ३० गते सम्म उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुसमेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ३६ पुरुष र १२ जना महिलालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको हो ।उनीहरुबाट १ वर्ष ६ महिना ६ दिन कैद सजाय र एक करोड दुई लाख एक हजार पाँच सय जरिवाना असुल गर्न अदालतमा उपस्थित गराइएको थियो ।
प्रहरीका अनुसार चेक अनादार मुद्दामा ३५ जना, लागू औषध मुद्दामा ५ जना, अभद्र व्यवहार मुद्दामा १ जना, आपराधिक उपद्रव मुद्दामा १ जना, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टचार गरेको मुद्दाम १ जना, बैंकिङ कसुर मुद्दामा ४ जना, लेनदेन बिगो मुद्दामा १ जना प्रहरीले पक्राउ गरेको हो ।