काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौं खेलमा नेपाल विजयी भएको छ । खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले हराएको हो ।
युएईको अजमानस्थित द सेभेन रगंशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर २ सय १३ रन बनायो । २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो ।
यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।
नेपालले अब बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।