ट्राफिक जरिवाना अब नागरिक एपमार्फत् तिर्न सकिने,एपमै डिजिटल लाइसेन्स उपलब्ध हुने

ट्राफिक जरिवाना अब नागरिक एपमार्फत् तिर्न सकिने,एपमै डिजिटल लाइसेन्स उपलब्ध हुने

123

पोखरा । सवारी चालक अनुमति पत्र (लाइसेन्स कार्ड) स्मार्ट मोबाइलमा हेर्न मिल्ने भएको छ । सरकारले परीक्षणका रुपमा बागमती प्रदेशमा यो व्यवस्था मिलाएको हो । स्मार्ट मोबाइलमा नागरिक एप डाउनलोड गरी ड्राइभिङ लाइसेन्स आइकनमा गएर लाइसेन्सको विवरण भर्न मिल्ने व्यवस्था मिलाइएको छ । उक्त एपमा लाइसेन्स विवरण भएपछि लाइसेन्स र क्युआर कोड उपलब्ध गराइन्छ । उक्त एप हेरेर ट्राफिक प्रहरीले लाइसेन्स लिए नलिएको, नवीकरण गरे नगरेको, जाँच गर्न सक्नेछन् ।

सरकारले सवारी चालक अनुमति पत्रका लागि सैद्धान्तिक र प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीलाई लाइसेन्स कार्ड दिन नसकेपनि उनीहरुबाट कार्ड वापत् एक हजार ५ सय रुपैंया असुली रहेको छ । ट्राफिक नियम उल्लंघन गरेबापत सवारी चालकले अब ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था पनि गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।
सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था समेत गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन् । नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्युआर कोड देखाउने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लंघन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण राख्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

भर्खरै