पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार ५ सय रुपैंयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन् । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले पूरक अनुसन्धान गरिपाऊँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए ।
उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्व सञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पुर्पक्षका लागि थुनामा छन् । राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन् ।
सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । लामिछानेलाई हिजो पक्राउ गरी आज पोखरा ल्याइएको छ । रविलाई भोलि आइतबार अदालत पेश गरिने प्रहरीले बताएको छ ।