काठमाडौं । सहकारीबाट ऋण लिएर कम्पनी सञ्चालन गर्ने, सहकारीकै पैसाले शेयर लिने र सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा आएको करोडौं रुपैंयाँ खर्च गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अनुसन्धान नै नगरी कहीँकतै ऋण नदेखिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले सूर्य दर्शन बचत तथा ऋण सहकारीको बचत रकम एक महिलाको खातामा गएको भन्दै तिनलाई अनुसन्धानका लागि असोज १४ गते नियन्त्रणमा लिएको हो । तर, सोही प्रकरणमा मुछिएका रवि लामिछाने भने सहकारी ठगी नभएको बताउँदै उन्मुक्त भएर हिँडिरहेका छन् । लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटर्वक प्रालिले सहकारी रकम डुबाएको प्रमाणित भइसकेको छ । रवि स्वयमले गोर्खा मिडिया नेटवर्कमा गएको रकमको हिस्साको जिम्मेवारी लिने बताइरहेपनि प्रहरी उनलाई छुन सकेको छैन । बरु उनले प्रहरी महानिरीक्षकले नै ‘क्लिन चिट्’ दिइसकेको भन्दै हिँडेका छन् ।
सूर्य दर्शन सहकारीको रकम अपचलनमा सम्लग्न रहेको आरोपमा गुल्मी मुुसिकोट घर भई हाल ललितपुर बस्ने ३२ वर्षीया लीला पछाईलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनी सहकारीकी ऋणी भने होइनन् । रवि लामिछानेको जस्तो आरोप उनीमाथि छैन । लीलाले सहकारीको रकमबाट ऋण लिएर कम्प्नी खोलेको र अपचलन गरेको पनि देखिँदैन ।
लामिछानेले जस्तो करोडौं चेक कोटेको पनि देखिँदैन । सहकारीको खाताबाट उनको बैंक खातामा रकम ट्रान्सफर भएको कारण उनलाई पक्राउ गरिएको हो । लीलाको खातामा तीन करोड गएको देखिएकाले पक्राउ गरिएको कास्की प्रहरीको दाबी छ भने कास्की प्रहरीले जारी गरेका विज्ञीप्तमा पनि उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको उल्लेख छ । तर कास्की प्रहरी लामिछानेको विषयमा मौन रहेको आजको नागरिक दैनिकमा समाचार छ ।