स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा

elecation aayog

पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहका रिक्त स्थानको चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर दल दर्ता आह्वान गरेको हो । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० असोज १६ सम्म दल दर्ता गर्न सकिने आयोगको सूचनामा भनिएको छ ।

मंसिर १६ मा तय भएको स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम असोज १६ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गर्न आव्हान गरिएको हो ।
राजनीतिक दलले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा आयोगको कार्यालयमा निवेदन दिनसक्ने छन् । स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि सरकारले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्दैछ । जसमा जिल्ला समन्वय समितिका प्रमुख २, नगरपालिकाको प्रमुख र गाउँपालिका अध्यक्ष ३, नगरपालिकाको उपमुख तथा गाउँपालिका उपाध्यक्ष ५, वडा अध्यक्ष ३१ गरेर स्थानीय तहमा ४१ पदमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन कार्यक्रम पनि स्वीकृत

आयोगले उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राखिएको छ ।सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी नामावली प्रकाशन गरिने छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध गरिएको मौन अवधि लागु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया