सर्लाही । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । घटनामा एक जना घाइते भएका छन् ।
२७ वर्षीय धीरेन्द्र यादवले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका हुन् । घटनामा उनका ५४ वर्षीय बाबु रामदिनेश यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । गोली हानेर श्रीमतीको हत्या गर्ने धीरेन्द्र फरार भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएकाे र घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहेको छिमेकीले प्रहरीलाई बताएका छन् । आज बिहान २ बजेतिर एक्कासी एक जना साथीसँग धीरेन्द्र मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको छ ।
This will close in 5 seconds