पोखरा ९ असोज । यो दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण नगरी सुकिला नोट मात्रै सटही गर्ने सूचना जारी गरेको छ ।
गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अगामी असोज १३ गते आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट सुकिला नोटको सटही गर्ने जानकारी गराएको छ । बैंकको सूचना अनुसार बैंकको मुद्रा व्यवस्थान विभाग र बैकिङ विभागबाट पनि असोज २२ गतेसम्म नोट सहटी गर्न सकिने छ ।
बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैंयाँ दरका नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने जानकारी गराएको छ । यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेको थियो । गत वर्ष पनि बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५ सय रुपैयाँको नयाँ नोट सटहीको व्यवस्था मिलाएकोे थियो ।
सुकिला नोट भनेको कस्तो ?
प्रयोग गर्न योग्य नोटलाई राष्ट्र बैंकले सुकिला नोट भन्ने गरेको छ । छापिएर आएपनि बजारमा नगएको नोटलाई राष्ट्र बैंकले नयाँ नोट भन्ने गरेको छ । सुकिला नोट भनेको बजारमा गएर प्रयोग भएको पनि हुन्छ ।
राष्ट्र बैंकले नयाँ नोट सटही नगर्नुमा २ वटा कारण रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन र नोट छपाइको खर्च व्यवस्थापनका लागि नयाँ नोट वितरण नगर्नुको कारण रहेको उनीहरुको भनाइ छ । केही वर्ष यताका तथ्यांकहरूले डिजिटल प्रविधिमार्फत् देशमा हुने आर्थिक गतिविधि बढ्दै गएको देखाएको राष्ट्र बैंकको भनाइ छ । सरकारले डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै पनि लगेको छ ।
नेपाली नोटहरूको स्वदेशमा नभई विदेशमा छपाइ हुँदै आएको छ र त्यसको लामो प्रक्रिया हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार साना नोटको मूल्यभन्दा तिनको छपाइमै झन् धेरै खर्च लाग्ने गरेको छ । केही वर्षयता राष्ट्र बैंकले एक र दुई रुपैयाँको नोटको छपाइ नै बन्द गरिसकेको छ । राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णयप्रति भने सामाजिक सञ्जालमा विरोध र पक्षमा प्रतिक्रिया आएका छन् भने राष्ट्र बैंकका पूर्वकर्मचारीले यसलाई अग्रगामी निर्णय पनि भन्ने गरेका छन् ।