काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा शुभकामना दिँदै यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको उल्लेख गरेका छन् ।
‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस, दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ ।’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।
जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सन नहुने भन्दै ओलीले यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरंकुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मष्तिस्कमा आउने उल्लेख गरेका छन् ।