मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ ।

भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन् भने अन्य घरधुरीमा आंशिक र सामान्य क्षति पुगेको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “चर्केर बस्नै नमिल्ने अवस्थाका घर धेरै छन् । थप विवरण सङ्कलन हुँदै छ । माटोका घरमा धेरै क्षति भएको छ ।”
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार हालसम्म ३५ घरधुरी तत्काल बस्न नमिल्ने अवस्थामा छन् । भूकम्पबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएकाले विस्थापितहरू छिमेकी र आफन्तको घरमा बसेको उहाँले बताउनुभयो । गाउँपालिकाका पाँचवटै वडामा सामान्य, आंशिक र पूर्ण क्षतिको विवरण सङ्कलन गर्न स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधिसहितको टोली परिचालन गरिएको छ । हालसम्म भूकम्पबाट करिब दुई सय घरधुरी प्रत्यक्ष प्रभावित भएको गाउँपालिकाको प्रारम्भिक विवरणमा उल्लेख छ ।
गाउँपालिकाभित्रका अधिकांश कच्ची घरमा चिरा परेको देखिएको छ । सर्वसाधारणका घरदेखि विद्यालय, गुम्बालगायत सामुदायिक भवनसमेत चर्किएको अवस्थामा रहेकाले प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ । बेलाबेलामा भूकम्पको धक्का महसुस भइरहेकाले स्थानीय त्रसित छन् । दिउँसो घरायसी काम गर्नेहरू राति खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले लोमन्थाङबाहेक अन्य गाउँपालिकामा क्षति नभएकाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी प्रहरी टोली खटाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । माटोका घर चर्किएको अवस्थामा रहेकाले सुरक्षित नभएका घरमा नबस्न प्रहरीले अनुरोध गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का ठुलो भएकाले केही दिन परकम्प आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । केन्द्रले चार रेक्टर स्केलभन्दा माथिका भूकम्पको रेकर्ड मात्र राख्ने गरेको छ ।