पोखरा ।

नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ मा सहभागी हुन पोखराका पत्रकारहरू जापान जाने भएका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र कास्की शाखा अध्यक्ष तथा नेपालय नेटवर्क डटकमका सम्पादक माधव बराल सो सम्मेलनका लागि जापान जान लागेका हुन्। आगामी सन् २०२६ जुलाई २५ तारिखका दिन जापानमा एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ आयोजना गर्ने निर्णय जापान शाखाको कार्यसमितिले गरेको छ।
सम्मेलनलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पूर्ण टोलीसहित गण्डकी र कास्कीका नेतृत्वको सहभागिता रहनेछ। सन् २०२६ जुलाई २३ देखि २६ तारिख (३ रात) सम्मका लागि कार्यक्रम तालिका निश्चित गरिएको छ। गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र कास्कीका अध्यक्ष माधव बरालसँगै अन्य प्रदेश अध्यक्षहरू र जिल्ला अध्यक्षहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।
कार्यक्रममा काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने र मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीसहित पत्रकार महासंघ केन्द्रीय समितिको टोली जुट्नेछ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोरखाली’ ले कार्यक्रमबारे जानकारी गराउँदै महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई औपचारिक पत्र पठाएका छन्। ‘ग्लोबल मिडिया सम्मेलनको समापनपछि केन्द्रीय समिति बैठकको व्यवस्थापनको प्रस्ताव गरिएकाले केन्द्रीय समितिबाट रचनात्मक सहयोग तथा सहकार्यको हार्दिक अपेक्षा राख्दछौँ,’ उनले भनेका छन्।
ग्लोबल मिडिया सम्मेलनको समापनलगत्तै महासंघको केन्द्रीय समिति बैठकको व्यवस्थापनसमेत जापानमै गर्ने प्रस्ताव गरिएको छ। सन् २०११ मा स्थापना भएको महासंघ जापान शाखाले कार्यक्रम व्यवस्थापन, समन्वय तथा अन्य आवश्यक पक्षहरूमा केन्द्रीय समितिबाट रचनात्मक सहयोग रहने विश्वास लिएको छ। सम्मेलनको आयोजक नेपाल पत्रकार महासंघ, जापान शाखा हो। जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ ‘गोरखाली’ छन्।