फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मंगलबार भएका खेलमा फ्रान्स, मेक्सिको र नर्वेले प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन्।


किलियन एम्बाप्पे २ गोलसहित चम्किँदा एर्लिङ हालान्डले फेरि निर्णायक गोल गरे। सह–आयोजक मेक्सिकोले पनि लगातार चौथो क्लिनसिट कायम राख्दै सहज जित दर्ता गर्यो।
हालान्डको निर्णायक गोल

डलासमा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ ले हरायो। पहिलो हाफको अन्त्यतिर एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा अमाद डियालोले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै आइभरी कोस्टलाई बराबरीमा फर्काए। तर खेल सकिन ४ मिनेट बाँकी रहँदा ओस्कार बोबको पासमा प्याट्रिक बर्गले दिएको बललाई हालान्डले गोल गर्दै नर्वेलाई जित दिलाए। विश्वकपमा लगातार तीन खेलमा गोल गरेका हालान्डले नर्वेलाई इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दिलाए। अब नर्वेले जुलाई ५ मा ब्राजिलसँग खेल्नेछ।
एम्बाप्पेको २ गोलमा फ्रान्स सहज विजयी
न्युयोर्क–न्यु जर्सीमा फ्रान्सले स्विडेनलाई ३-० ले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो। फ्रान्सले सुरुदेखि नै आक्रमण गर्यो। एम्बाप्पे र माइकल ओलिसेका प्रहार पोस्टमा लागेका थिए। पहिलो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुमै माइकल ओलिसेको पासमा ब्राड्ली बारकोलाले दोस्रो गोल गरे। त्यसपछि फेरि ओलिसेकै अर्को असिस्टमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३-० को सहज जित सुनिश्चित गरे। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १८ पुगेको छ। अब उनी सर्वाधिक गोलकर्ताको सूचीमा लियोनेल मेसीभन्दा केवल एक गोलले पछि छन्। जारी विश्वकपमा उनको ६ गोल पुगिसकेको छ।
मेक्सिकोको लगातार चौथो क्लिनसिट
मेक्सिको सिटीमा भएको खेलमा सह–आयोजक मेक्सिकोले इक्वेडरलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनायो।रोबर्टो अल्भाराडोको उत्कृष्ट पासमा जुलियन किन्योनेसले पहिलो गोल गरे। त्यसपछि किन्योनेसकै पासलाई राउल जिमेनेजले गोलमा परिणत गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। सिजार मोन्टेसको नेतृत्वमा मेक्सिकोको रक्षापंक्ति फेरि मजबुत देखियो। गोलरक्षक राउल रान्गेलले लगातार चौथो खेलमा क्लिनसिट राखे।खेलको अन्त्यतिर इक्वेडरका पिएरो हिन्कापिए रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। अब मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्ड र डिआर कंगोबीचको विजेतासँग खेल्नेछ।एजेन्सी