विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान

विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान

death news photo

काठमाडौँ, असार १६ गते । ‘जाँदा आकाशमा र फर्कंदा बाकसमा’ चर्चित यो गीतले भनेझैँ वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्कनेक्रम चिन्ताजनक देखिएको छ । घरपरिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर बिदेसिएका युवा निर्जीव शरीर बनेर फर्कंदा उनीहरूका परिवारमा पर्ने पीडा हृदयविदारक छ । यस्तो पीडा दैनिक चार युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा एक हजार ४३८ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रतिव्यक्ति १० लाख रुपियाँ पाउने व्यवस्था छ । यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको १४ करोड ३८ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

यसै गरी यो आर्थिक वर्षभित्र रोजगारीक्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका ९६० श्रमिकले सात करोड ६० लाख रुपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ साउनदेखि चालु आवको जेठसम्म १६ हजार ३०० जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । चालु आवको ११ महिनामा सात लाख २२ हजार ८४१ जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । उहाँहरूले गएको वैशाखसम्म पठाएको विप्रेषण १९ खर्ब १६ अर्ब ९० करोड रुपियाँ भित्रिएको हिसाब भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक चन्द्रबहादुर शिवाकोटीले मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्पmत गरेसँगै सेवाग्राही सङ्ख्या बढेर सहयोग रकम पनि बढेको उहाँको भनाइ छ ।

रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन । नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युका कारण र स्वास्थ्य परीक्षण मापदण्ड सम्बन्धमा जानकारी हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको बताउनुभयो । विगत पाँच वर्षयता रोजगारीक्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।  वैदेशिक रोजगारीक्रममा अधिकांशको मृत्यु कार्यस्थलको दुर्घटना र सडक दुर्घटना, सुतेकै ठाउँमा विविध कारणले हुने गरेको छ । आजको  गाेरखापत्रमा समाचार छ ।

प्रतिक्रिया