पोखरा । सगरमाथाको डेथ जोन (मृत्यु क्षेत्र) मा अलपत्र परेका हिमाल आरोही गाइड दावा शेर्पा ७ दिनपछि जीवितै भेटिएका छन् । ओखलढुंगाका ५२ वर्षीय दावालाई सगरमाथा क्षेत्रमा मरेको आशंका गरिएको थियो । ७ दिनसम्म बिना खाना र बिना अक्सिजन हिमालको जोखिमपूर्ण क्षेत्रमा बाँच्न सफल हुनुलाई आरोहण क्षेत्रमा ठूलो चमत्कार मानिएको छ ।


दावालाई जेठ २२ गते (४ जुन) बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसीसी) को फोहोर व्यवस्थापन टोलीले फेला पारेको हो । आधार शिविरतर्फ घिस्रिँदै गरेको अवस्थामा उनलाई टोलीले फेला पारेको थियो । उद्धारको कुनै आशा नभएको र कसैले खोजी नगरेको अवस्थामा उनले मृत्युलाई जितेर फर्किएका हुन् ।
सगरमाथाको उच्च क्षेत्रमा ७ दिनसम्म कुनै पनि सहायता बिना संघर्ष गरेका उनको यो पुनर्जन्मलाई लिएर सबैले खुसी व्यक्त गरेका छन् । सबै प्रतिकूलताका बाबजुद ज्यान जोगाउन सफल दावाले साहसी र प्रेरणादायी उदाहरण पेश गरेका छन् । अहिले उनको यो संघर्षको कथाले विश्व आरोहण समुदायको ध्यान खिचेको छ ।
