पाेखरा । पोखराको शान्तिवन बाटिकामा रहेकाे पोखरा बहुमुखी क्याम्पसमा जेठ १५ र १६ गते दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन हुने भएको छ । क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदीयमान प्रवृत्तिहरू (पीएमसीएनसी–२०२६) सम्बन्धी राष्ट्रिय सम्मेलन गर्न लागेको हो । २०४४ सालमा टुँडिखेलबाट शैक्षिक यात्रा सुरु गरेको यस सामूहिक क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र समेत प्राप्त गरिसकेको आज आयाेजित पत्रकार सम्मेलनमा कार्यक्रम संयाेजक सहप्राध्यापक भीमप्रसाद न्याैपानेले बताए ।

क्याम्पसलाई शिक्षण कार्यमा मात्र सीमित नराखी अनुसन्धान र ज्ञान उत्पादनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको उनको भनाइ छ । विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, थाइल्याण्डको सिनावद्रा विश्वविद्यालय र मुक्त फाउण्डेसन नेपालको सहकार्यमा यो कार्यक्रम हुन लागेको न्याैपानेले जानकारी दिए । सामुदायिक क्याम्पसको रूपमा शैक्षिक गुणस्तर र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यस सम्मेलनमा नेपालसहित तीनवटा देशका ७ वटा विश्वविद्यालय र २१ वटा क्याम्पसका ७८ जना अनुसन्धानकर्ताहरूको सहभागिता सम्मेलन संयाेजक न्याैपानेकाे भनाइ छ ।
यसैगरी सम्मेलनको मुख्य आकर्षणको रूपमा रहने प्यानल छलफल (प्यानल डिस्कसन) सेसनमा प्रा.डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बुढाथोकी बीच उच्च शिक्षा, आर्थिक विकास, बैंकिङ, उद्योग तथा सामाजिक रूपान्तरणका विषयमा सघन बौद्धिक बहस हुने क्याम्पस प्रमुख सहप्राध्यापक शिशुकला पराजुलीले जानकारी दिए ।
सम्मेलनमा व्यवस्थापन, डिजिटल बैंकिङ, दिगो वित्त, मानव संसाधन व्यवस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, सार्वजनिक नीति र वातावरणीय न्याय लगायतका मुख्य विषय क्षेत्रहरू समावेश गरिएका छन् । यस सम्मेलनले अनुसन्धान संस्कृतिको विकास गर्दै नीति निर्माणमा शैक्षिक योगदान पुर्याउन र सामुदायिक क्याम्पसको शैक्षिक पहिचान सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास क्याम्पसले लिएको छ । सम्मेलनमा संस्थागत सहचागिताका लागि २ हजार, शिक्षकलाई १ हजार ५०० र विद्यार्थीले १ हजार रूपैयाँ तिरेर दर्ता गर्नुपर्ने न्याैपानेले बताए ।

This will close in 10 seconds