काठमाडौं । संघीय संसदमा साना दलको हैसियतमा सीमित पुराना दलहरू केन्द्रको ‘खसखस’ मेटाउन प्रदेशमा झरेका छन् । केन्द्रीय सरकारमा सधैँ गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यी दलहरू पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सीमित भएका छन् ।२१ फागुनको निर्वाचनपश्चात् केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । गठबन्धन गरेर केन्द्र सरकार बनाउने र गिराउने हैसियतसमेत गुमाएपछि साना दलको हैसियतमा सीमित पुराना दलहरू प्रदेश सरकारमा फेरबदलको खेललाई निरन्तरता दिएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टीसहितका दलहरू अहिले प्रदेश सरकारमा सत्ता हेरफेरको खेलमा लागेका छन् । जसपा र जनमत पार्टी संघीय संसदमा शून्य भएको छ । कांग्रेस, एमाले, नेकपा विगतमा संघीय सरकारमा हालीमुहाली रहँदै आएको भए पनि पछिल्लो निर्वाचनबाट साना दलको हैसियतमा पुगेका छन् । गत शुक्रबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएपछि सरकारमा एमाले सहभागी भयो । मधेस सरकारमा कांग्रेसबाट यादव मुख्यमन्त्री छन् । कांग्रेस, एमाले, नेकपाले विश्वासको मत दिएका छन् । तर फेरि नेकपा सरकारबाट बाहिरिने चर्चा अहिले चलिरहेको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३८ मत परेको थियो । प्रदेशसभा बैठकमा एक सय सांसद उपस्थित रहेका थिए । मधेसमा जसपा, जनमत, राप्रपासहितका दलहरू विपक्षमा मत राखेका छन् । यसैगरी कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि दलहरू आन्तरिक छलफलमा छन् । कांग्रेसका सभापति गगनकुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत गरेका छन् । पार्टीको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थाका कारण कोशीमा छिट्टै नयाँ सरकार गठन हुने बताएका हुन् ।
तर दलहरूबीच छलफल भएपनि हालसम्म सरकारको नेतृत्व परिवर्तनका विषयमा ठोस सहमति हुन बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन भएकै बेला आधा–आधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति भएको थियो । पूर्वसहमतिअनुसार बजेट अघि नै कोशीमा सरकारको नेतृत्व परिवर्तन हुनुपर्नेमा कांग्रेस नेताहरूले जोड दिएका छन् । तर एमाले अहिलेकै सरकारको निरन्तरताको पक्षमा छ ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्कीले कांग्रेसले बजेट आउनुअगाडि नै सरकारको नेतृत्व परिवर्तन गरेर नयाँ बजेट ल्याइनुपर्ने बताए । उनले सरकार परिवर्तनको विषय कोशी प्रदेशका नेताहरूको हातमा नभएका कारण केन्द्रीय नेतृत्वको निर्णयलाई पर्खिरहेको जनाए । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रमेशकुमार बस्नेतले सरकारको नेतृत्व परिवर्तनका विषयमा छलफल भए पनि कुनै सहमति नभएको जनाएका छन् । कतिपय नेताहरूले कोशी प्रदेशमा पनि मधेस प्रदेश जस्तै कांग्रेस, एमाले, नेकपासहितका दलहरूको संयुक्त सरकार बनाउने कसरत पनि भइरहेको जनाएका छन् ।
यस्तै आलोपालो सहमतिअनुसार बागमती प्रदेशमा पनि सरकार हेरफेरको कसरत भइरहेको छ । बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री छन् । उनको कार्यकाल ८ चैतसम्म थियो । बागमती सरकारको मुख्यमन्त्री परिवर्तनमा कांग्रेस, एमाले, नेकपाका नेताहरू केन्द्रीय निर्णयको पर्खाइमा छन् । ८ साउन २०८१ मा भएको सहमतिअनुसार अहिले बागमतीमा एमालेको सरकार हुनुपर्ने हो । तर अन्य प्रदेशको समेत सरकार हेरफेरको कसरत भइरहेकाले नेताहरू केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा रहेका छन् ।
कोशी, बागमती जस्तै गण्डकीमा पनि सरकार हेरफेर हुँदैछ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अहिले एमालेको सरकार हुनुपर्ने हो । तर गण्डकी प्रदेशमा पनि कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । अन्य प्रदेश जस्तै गण्डकीमा पनि सरकार परिवर्तन हुन्छ । तर नेकपासहितको सरकार बनाउने गृहकार्य भएकाले ढिलाइ भएको नेताहरू बताउँछन् । लुम्बिनीमा एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री छन् । कांग्रेस र एमालेबीच भएको पूर्वसहमतिअनुसार लुम्बिनीमा कांग्रेसले सरकारको नेतृत्व गर्न केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा नेताहरू रहेका छन् ।
आलोपालो सहमतिअनुसार एमालेको समय पुगिसकेकाले कांग्रेसले लुम्बिनीमा सरकारको नेतृत्व गर्न खोजिरहेको छ । तर अन्य प्रदेश जस्तै लुम्बिनीमा पनि सरकार परिवर्तन केन्द्रीय नेताहरूको सहमतिमै हुने बताइन्छ । दुई साताअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले कर्णालीमा आफ्नो पार्टीले नेतृत्व गर्ने बेला आएको बताएका थिए । अहिले कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन् । कांग्रेस सभापति थापाले भनेजस्तै पूर्वसहमतिअनुसार अब कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस, एमाले, नेकपासहितको संयुक्त सरकार बनाउने गृहकार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा सबैभन्दा ठूलो दल भएकाले नेकपाकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको छ । केन्द्रीयस्तरमा हुने सहमतिअनुसार सुदूरपश्चिममा पनि तीन दलको संयुक्त सरकार गठन हुन्छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री छन् ।
सात प्रदेशमध्ये कोशी, लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । सातै प्रदेशमा कांग्रेस, एमाले, नेकपाको संयुक्त सरकार बनाउने गरी छलफल भइरहेकाले सुदूरपश्चिममा सरकारको नेतृत्व ठुलो दलको हैसियतले नेकपाले गर्न सक्छ । तीनै दलका शीर्ष नेताहरूबीच छलफल निरन्तर जारी रहेकाले भागबन्डाकै आधारमा सातै प्रदेशमा सरकार गठनको गृहकार्य भइरहेको हो । राजधानी दैनिकमा समाचार छ ।