फिर्के खाेला मिचेर बनाइएका अवैध संरचना हटाउन दाेस्राे दिन पनि चल्यो डोजर

फिर्के खाेला मिचेर बनाइएका अवैध संरचना हटाउन दाेस्राे दिन पनि चल्यो डोजर

firke

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमित क्षेत्र खाली गराउन दोस्रो दिन पनि डोजर चलाउन सुरु गरेको छ । सोमबार बिहान १० बजेदेखि विभिन्न तीन स्थानबाट अवैध संरचना भत्काउने काम पुनः थालिएको हो । महानगरले पोखरा ७ र ८ को सिमानामा पर्ने जिरो किमी, पोखरा ४ र ५ को बुढानीलकण्ठ मन्दिर क्षेत्र र वडा नम्बर १८ र २ को सिमाना अधेरीकुना क्षेत्रमा एकैसाथ डोजर परिचालन गरेको छ । पोखराको सभ्यता र पहिचानसँग जोडिएको यो खोलालाई यसको वास्तविक स्वरुपमा फर्काउन महानगरले कडा कदम चालेको हो ।

विसं २०८० मा गरिएको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोला मिचेर १६० वटा संरचना बनेका छन् । यसमध्ये व्यक्तिगत रुपमा बनाइएका ३५ वटा घर स्थायी प्रकृतिका छन् भने ९७ वटा संरचना अस्थायी फेला परेका छन् । त्यसैगरी विभिन्न संस्थाका नाममा १८ वटा स्थायी र १० वटा अस्थायी भवन निर्माण भएको तथ्यांक महानगरसँग छ । कतिपय घरका पिलर नै खोलाभित्र गाडिएको प्रतिवेदनमा उल्लेख छ । खोलाको वास्तविक सिमांकन छुट्याउन प्राविधिक टोलीले यसअघि नै खोलाको दुवैतर्फ गरी कुल ५८८ वटा सिमाना स्तम्भ गाडिसकेको छ । यसअघि १० मिटर मापदण्ड तोकिए पनि हाल व्यवहारिक पक्षलाई हेरेर ६ मिटर कायम गरी संरचना हटाउने काम भइरहेको छ ।

यसअघि आइतबार पहिलो दिन महानगरले जिरो किमी क्षेत्रबाट डोजर अभियान सुरु गरेको थियो । पहिलो दिन ३ वटा डोजर प्रयोग गरी फिर्केखोला घरका १४ वटा संरचना भत्काइएका थिए । यसमा सबैभन्दा बढी वडा नम्बर ४ का १० वटा भवन रहेका थिए । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीका अनुसार वडाका संरचना भत्काउँदा स्थिति शान्तिपूर्ण रहेको थियो । महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद शनिबार सकिएपछि आइतबार बिहानैदेखि यो अभियान थालिएको हो । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले सूचनापछि कतिपयले आफ्ना सामान आफैं सारेकाले काम गर्न सजिलो भएको बताए ।

नगर प्रमुख धनराज आचार्यले फिर्केखोलालाई प्राकृतिक स्वरुपमै बग्न दिने गरी यो योजना ल्याइएको बताए । उनले खोलाको संरक्षण भावी पुस्ताको सुरक्षासँग जोडिएको उल्लेख गरे । आचार्यले भने, ‘विकासका नाममा खोला मिच्दा भविष्यमा ठूलो प्राकृतिक जोखिम निम्तन सक्छ ।’ उनले व्यक्तिगत वा संस्थागत स्वार्थका कारण सार्वजनिक सम्पत्ति मिच्दा सहरले दीर्घकालीन क्षति बेहोर्नुपर्ने धारणा राखे । उनले यस अभियानबाट विस्थापित हुने अवस्थाका सुकुम्बासी परिवारको उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

वातावरण संरक्षणका लागि महाअभियान नेपालका संयोजक रामबहादुर पौडेलले महानगरको यो कदममा नागरिक समाजको पूर्ण साथ रहने बताए । उनले खोला जोगाउने अभियानसँगै मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘महानगर, संघीय सरकार र सरोकारवाला निकायबीच समन्वय भए मात्र फिर्केखोला दीर्घकालीन रुपमा जोगिन सक्छ ।’ यो अभियानमा महानगरमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले सक्रिय नेतृत्व लिइरहेका छन् ।

खोला खाली गराएपछि महानगरले यस क्षेत्रलाई ‘फिर्के कोरिडोर’ का रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ । दक्षिण कोरियाको सउलमा रहेको ‘छुन्छिन्छो’ खोलाको सफल पुनस्र्थापनाबाट प्रभावित भएर यो आधुनिक अवधारणा ल्याइएको हो । यसअन्तर्गत करिब ८ किलोमिटर क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली क्षेत्र, विश्रामस्थल र सेल्फी पोइन्ट निर्माण गरिनेछ । फिर्केलाई आकर्षक पर्यटन गन्तव्य बनाउने र वर्षैभरि स्वच्छ पानी बगाउने महानगरको तयारी छ ।

यो महाअभियानलाई व्यवस्थित बनाउन कर्मचारीलाई तीन वटा केन्द्रमा विभाजन गरी परिचालन गरिएको छ । अधेरीकुना, बुढानीलकण्ठ र जिरो किमी क्षेत्रमा पूर्वाधार, शिक्षा, वित्त, कानुन, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता विभिन्न शाखाका कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । आइतबार सार्वजनिक बिदाको दिन भए पनि कर्मचारी बिहानैदेखि फिल्डमा खटिएका थिए । फिर्केखोला वडा नम्बर १८ को अधेरीकुनाबाट सुरु भई विभिन्न वडाहरु हुँदै वडा नम्बर १७ को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । यस खोलाको चौडाइ न्यूनतम ३.३० मिटरदेखि अधिकतम ४० मिटरसम्म रहेको छ ।

प्रतिक्रिया