पोखरा। आफ्नै श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैंकबाट ऋण निकालेर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्रबहादुर थापा मगर छन्।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले उनीहरूलाई वैशाख २५ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहनबहादुर शाहीको नाममा दर्ता रहेको पोखरा–३० स्थित कित्ता नम्बर २४४४ र २४४७ को जग्गालाई श्रीमती वन्ती शाही र भद्रबहादुर थापाले मिलेमतोमा धितो राखेका थिए । उनीहरूले जग्गाधनी मोहन बहादुरको नक्कली सहीछाप किर्ते तयार गरी सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट ५० लाख रुपियाँ ऋण निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारी एवं डिएसपी बस्नेतको भनाइ छ ।
आफ्नो मञ्जुरी र जानकारी बिना नै जग्गा धितोमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित मोहनबहादुर शाहीले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जनालाई कास्की जिल्ला अदालतबाट ‘ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दामा ५ दिन म्याद थप गरिएको छ । ईलाका प्रहरी कार्यालय शिशुवाले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको बस्नेतले जानकारी दिनुभयो ।