पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोक नजिक शिवालय चोकस्थित पृथ्वीचोक–सृजनाचोक सडक खण्डमा भएको सृजना पौडेल के.सी. हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत चैत २५ गते साँझ करिब ७:१५ बजे पोखरा महानगरपालिका–५ जिरो किलोमिटर घर भई हाल वडा नं. १८ सेदी बस्दै आएकी ४२ वर्षीया सृजना पौडेल के.सी.लाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनापछि तत्कालै प्रहरी सक्रिय भई अनुसन्धान थालेको थियो।
यसअघि नै घटनामा संलग्न दुई जना मुख्य प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। उनीहरूको बयान तथा घटनाको सूक्ष्म अनुसन्धानका क्रममा थप संलग्नता खुलेपछि प्रहरीले अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–११ स्थायी घर भई हाल पोखरा–५ जिरो किलोमिटर बस्दै आएका २४ वर्षीय बसन्त के.सी. र पर्वत फलेवास नगरपालिका–९ भंगारा स्थायी घर भई हाल पोखरा–१६ लामाचौर बस्दै आएका २७ वर्षीय नवराज पौडेल क्षेत्री रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उक्त कर्तव्य ज्यान मुद्दामा कास्की प्रहरीले मुख्य अभियुक्तसहित अर्का एकजना मतियारलाई घटनाको २ दिनभित्रै पक्राउ गरी सार्वजनिक गरेको थियो । तीमध्ये मुख्य अभियुक्त मृतककै भान्जा नाताका पर्वतको कुश्मा–११, शिल्मी घर भई हाल पोखरा–६ मा डेरा गरी बस्दै आएका २७ वर्षीय सन्तोष भनिने शिशिर केसी हुन् । त्यस्तै, मतियाररुपमा पोखरा–१७, रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार पनि पक्राउ परेका छन् । केसीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवल–२, मनकामना टोलबाट र परियारलाई पोखराबाटै पक्राउ गरिएको थियो । सो घटना घट्नुमा पारिवारिक बेमेल तथा अंश सम्पत्ति मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको ग२५प ३०४४ नम्बरको स्कुटर तथा धारिलो हतियार खुँडा प्रहरीले बरामद गरिसकेको छ ।
उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार घटनाको कारण, योजना र संलग्नताको दायरा थप खुलाउने काम जारी रहेको छ। यसअघि पक्राउ परेका मुख्य प्रतिवादीहरूमाथि समेत कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उक्त घटना सार्वजनिक भएपछि पोखरामा सुरक्षाको विषयमा चासो बढेको छ भने दोषीलाई कडा कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।