पोखरा ।

कास्कीको पुरानो सडक राखी मिजुरेको विकासका लागि सामाजिक अभियान्तहरुले सुरु गरेको जनश्रमदान अभियानको आठौं दिन पुगेको अवसरमा समीक्षा बैठक सम्पन्न भएको छ । अभियान संचालन कार्यसमिति, सल्लाहकार तथा अनुगमन समितिको संयुक्त बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरेको हो । बैठकले उत्साहजनक रुपमा सहभागिता जनाउने श्रमदाताहरुप्रति धन्यवाद दिँदै अभियानका क्रममा देखिएका कमीकमजोरीहरुको समेत मूल्यांकन गरेको छ ।
अभियानलाई निरन्तरता दिन आगामी चैत २३ गतेदेखि मादी गाउँपालिका वडा नम्बर ९ को नयाँबजार गहतेबेँसीबाट अभियान सुरु गर्ने निर्णय बैठकले गरेको छ । नयाँबजार गहतेबेँसीबाट सुरु हुने यो अभियान गहते र च्यादी हुँदै मादी ८ को मिजुरे तर्फ अगाडि बढ्नेछ । समितिले यस अभियानमा स्वतस्फूर्त रुपमा जोडिन र महत्वपूर्ण राय सुझाव दिन सबैमा आव्हान गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ को सौरेबाट सुरु गरिएको यो अभियान पहिरे र भगवतीटार हुँदै घुम्लेसम्म पुग्दा ३ सय ५० जनाभन्दा बढीले श्रमदान गरिसकेका छन् । राखी मिजुरे सडकमा विगत लामो समयदेखि पर्याप्त सरकारी बजेट पर्न नसक्दा सडक निर्माणले गति लिन सकेको छैन । सडकको अधिकांश ठाउँ जिर्ण भई सवारी आउजाउमा निकै सास्ती भएपछि स्थानीय सामाजिक अभियान्तहरु आफैं जुटेर सडकलाई सहज बनाउन लागेका हुन् ।
‘राखी मिजुरे सडकमा सरकारी बजेट पर्याप्त नहुँदा जनताले लामो समयदेखि दुःख पाएका छन्,’ समितिका तर्फबाट ओमप्रकाश गुरुङले जानकारी दिँदै भने, ‘त्यसैले यो भेगका सामाजिक अभियान्तहरु मिलेर सडकको अवस्था सुधार्न र यात्रालाई केही सहज बनाउन जनश्रमदान सुरु गरेका हौं ।’ उनले हालसम्म श्रमदान गर्ने सम्पूर्ण श्रमदाताहरुप्रति आभार व्यक्त गरे ।

अभियान समितिले भइरहेका गतिविधिहरुबारे त्यस क्षेत्रबाट निर्वाचित संघीय सांसद, प्रदेश सांसद र जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुलाई समेत जानकारी गराएको छ । समितिले जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई पनि यस अभियानमा जोडिन र सडकको समस्या समाधानमा हातेमालो गर्न आव्हान गरेको छ ।
सडकको दुरावस्थाका कारण बिरामी बोक्ने एम्बुलेन्स र अत्यावश्यक सवारी साधन चल्न समेत कठिन भएपछि स्थानीयले यो विकल्प रोजेका हुन् । बैठकमा सहभागीहरुले सरकारी स्तरबाट ठूलो लगानी नभएसम्म सडकको पूर्ण सुधार नहुने भए पनि तत्कालका खाल्डाखुल्डी पुर्ने र नाला सफा गर्ने कामले ठूलो राहत पुग्ने बताए । चैत २३ गतेबाट सुरु हुने अर्को चरणको अभियानमा अझ धेरै संख्यामा स्थानीयको उपस्थिति हुने अपेक्षा समितिले गरेको छ ।
जनश्रमदान अभियान सन्चालन समितीको संयोजक ओम प्रकाश गुरुङ सहसंयोजकमा मिलन ढकाल सचिवमा प्रकाश आचार्य सदस्य महेन्द्र गौतम र सल्लाहकार कृष्ण राज पौडेल रहेका छन् ।