अफलाइन पठाओ र इनड्राइभ चलाएर ठगी गर्ने १० जना पोखरामा पक्राउ

अफलाइन पठाओ र इनड्राइभ चलाएर ठगी गर्ने १० जना पोखरामा पक्राउ

125 arested kaski police

पोखरा । पोखरा क्षेत्रमा अफलाइन पठाओ तथा इनड्राइभ चलाएर यात्रुलाई ठगी गर्ने १० जना पक्राउ परेका छन् ।  अनलाइन राइड सेयरिङ एपहरूमा आबद्ध भई वा नरही ‘अफलाइन’ मा मोटरसाइकल चलाएर यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, यात्रुहरूलाई अनावश्यक दुःख र हैरानी दिएको व्यापक गुनासो आएपछि मंगलबार बिहान ८ बजे प्रहरीले विशेष अपरेसन चलाएको थियो । वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने २६ वर्षीय श्याम काफ्ले र सोही ठाउँका हाल पोखरा–३ नदीपुर बस्ने २५ वर्षीया रेश्मा काफ्ले छन् ।

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ घर भई हाल पोखरा–९ नयाँबजार बस्ने ३४ वर्षीय अब्जल मिया, स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–३ नदीपुर बस्ने २५ वर्षीय अमृत सुनार र पोखरा–११ फूलबारीका ३७ वर्षीय सूर्यबहादुर नेपाली पक्राउ परेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–८ घर भई हाल पोखरा–१४ मझेरीपाटन बस्ने ४४ वर्षीय कृष्णकुमार गहतराज, काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ३० वर्षीय बिक्की लामा र स्याङ्जाको बिरुवा गाउँपालिका–२ घर भई हाल पोखरा–१७ पावरहाउस बस्ने २८ वर्षीय आकाश बिक पनि पक्राउ परेका छन् ।

यसैगरी म्याग्दीको भगवती गाउँपालिका–२ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने २९ वर्षीय अनिल पाइजा र गोरखाको गोरखा नगरपालिका–१४ घर भई हाल पोखरा–७ रत्नचोक बस्ने ३९ वर्षीय नबिल आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका १० जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरीले यात्रुलाई एपमार्फत मात्र राइड बुक गर्न र ठगी भएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया