पोखरा । मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको युद्ध र त्यसबाट उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित हुन थालेको छ। यसको प्रभाव नेपालमा पनि देखिन थालेपछि पोखरामा खाना पकाउने ग्यासको बजारमा असहज अवस्था देखिएको छ। नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित रहेको बताइरहे पनि उपभोक्ताले घरमै धेरै सिलिन्डर सञ्चित गर्न थालेपछि बजारमा अभावजस्तो अवस्था देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास वितरण व्यवस्थापनका लागि तत्काल कदम चालेको छ।

शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाको आकस्मिक बैठकले केही समयका लागि ७.१ केजी (आधा तौल) मात्र ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ। वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयमा पनि सहमति गरिएको छ। बैठकमा शक्ति ग्यासका सिइओ मेघराज पौडेलले ग्यास आयातमा कुनै कमी नभएको जानकारी दिए। उनका अनुसार फागुन २९ गतेसम्म शक्ति ग्यासले १ हजार ६६ मेट्रिक टन ग्यास खरिद गरेको छ, जबकि सामान्य अवस्थामा यो परिमाण ९ सय ५५ मेट्रिक टन हुने गरेको छ।
‘ग्यास नआएको होइन, तर युद्ध सुरु भएपछि उपभोक्ताले घरमा ३–४ वटा सिलिन्डर स्टक राख्न थाले, जसले गर्दा बजारमा अभाव जस्तो देखिएको हो,’ पौडेलले भने। उनले आधा तौलको ग्यास बजारमा पठाउँदा उद्योगमा झनै ग्यास थुप्रिने चिन्ता पनि व्यक्त गरे। उनका अनुसार आइतबारबाट आधार तौल भरेको ग्यास बजारमा पठाइनेछ।
नेपाल आयल निगम पोखराका प्रमुख शतिशराज ओझाले डिजेल र पेट्रोलको मौज्दात पर्याप्त रहेको बताए। हाल १ करोड लिटर डिजेल रहेको र यसले सामान्य अवस्थामा करिब ४५ दिनको माग धान्ने उनले जानकारी दिए। त्यस्तै १० लाख ५० हजार लिटर पेट्रोल मौज्दात रहेको छ, जसले झण्डै एक हप्ताको माग पूरा गर्न सक्ने ओझाको भनाइ छ। ओझाले ग्यास बिक्रीमा अनियमितता देखिएको उल्लेख गर्दै चामल, रक्सी तथा लुगा पसलहरूले अनुमति बिना ग्यास बेच्दा वास्तविक उपभोक्ता समस्यामा परेको बताए। अबदेखि अनुमति नलिएका र बोर्ड नभएका पसलबाट ग्यास बिक्री गर्न नदिने निर्णय गरिएको छ।
यता ग्यास उद्योगी र होटल व्यवसायीले भने आधा तौलको ग्यासले समस्या थप्ने बताएका छन्। गृहलक्ष्मी ग्यासका अध्यक्ष धर्मराज बर्तौलाका अनुसार ७.१ केजीको सिलिन्डर भर्दा उद्योगको सिल, क्याप, जनशक्ति र ढुवानी खर्च दोब्बर हुने अवस्था आउँछ। ‘सरकारको निर्देशन पालना गर्न हामी तयार छौं, तर यसले उद्योगलाई आर्थिक रूपमा निकै कठिन बनाएको छ,’ उनले भने। रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले व्यावसायिक भान्सामा प्रयोग हुने हाई प्रेसर चुलोका लागि आधा भरिएको सिलिन्डर उपयुक्त नहुने बताए। ७.१ केजीको सिलिन्डरमा ग्यासको चाप कम हुने र अन्त्यमा धेरै ग्यास सिलिन्डरमै बाँकी रहने भएकाले लागत बढ्ने व्यवसायीहरूको तर्क छ।
बैठकमा पेट्रोलियम पदार्थको प्रभाव खाद्यान्न क्षेत्रमा समेत पर्न सक्ने चेतावनी दिइयो। लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्यका अनुसार प्लास्टिक र बोराको मूल्य सत्र रुपैयाँबाट बढेर चालिस रुपैयाँ पुगेको छ, जसले चामल र मैदा प्याकिङमा समस्या ल्याउने सम्भावना छ।
यसैबीच प्रशासनले ग्यास उद्योग र विक्रेतालाई दैनिक प्राप्त र वितरण भएको ग्यासको विवरण बुझाउन निर्देशन दिएको छ। अब अनुमति प्राप्त विक्रेताले मात्रै ग्यास बिक्री गर्न पाउनेछन् भने किराना वा अन्य पसलमा ग्यास राख्न पूर्ण प्रतिबन्ध लगाइने भएको छ। प्रशासनले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त, अपांगता भएका व्यक्ति तथा डेरामा बस्ने विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउन विक्रेतालाई आग्रह गरेको छ। बजारमा कालोबजारी, तौलमा ठगी वा कृत्रिम अभाव देखिए तत्काल प्रशासनलाई जानकारी गराउन पनि उपभोक्तालाई अनुरोध गरिएको छ।
















