पोखराको ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, श्रीमानले हत्या गरेको आशंका

पोखराको ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, श्रीमानले हत्या गरेको आशंका

hattya

पोखरा। पोखरा महानगरपालिकाको ड्यामसाइडस्थित खोला किनारमा आइतबार बिहान सुटकेसभित्र एक युवतीको शव भेटिएपछि क्षेत्र स्तब्ध बनेको छ। नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको अवस्थामा सुटकेस देखेपछि स्थानीयले बिहान करिब ८ बजे वडा प्रहरी कार्यालय बैदाम लाई खबर गरेका थिए। प्रहरी पुगेपछि सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की का सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार मृतकको घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। विस्तृत विवरण भने पोस्टमार्टमपछि मात्र खुल्ने उनले बताएका छन्।

घटनास्थल नजिकै डेरा गरी बस्ने ‘विशाल’ भनिने एक युवकले आफूसँगै बस्ने मनिषा भनिने  श्रीमतीको हत्या गरेर शव खोलामा फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। ती युवक पश्चिम नेपालको भए पनि भारतमा बस्दै आएको र करिब एक महिनाअघि उक्त कोठा लिएको बताइएको छ। मृतक महिला पनि पश्चिम नेपालकै रहेको जानकारी प्राप्त भएको छ।

घरधनी महिलाका अनुसार राति नै युवतीको हत्या गरिएको हुन सक्छ। बिहान करिब ४ बजे शवलाई सुटकेसभित्र राखी तन्नाले बेरेर अर्का एक साथीसँग मोटरसाइकलमा पुलसम्म लगेर खोलामा फालेको दृश्य घरमा जडित सिसी क्यामेरामा देखिएको उनले बताएकी छन्। सामान फालिसकेपछि ती युवकले आफू होली मनाउन भारत जान लागेको भन्दै घरधनीसँग सामान्य ढंगले कुरा गरेको र एक महिनाको भाडा समेत तिरेर गएको जनाइएको छ। शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ। मृतकको औपचारिक सनाखत हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै