पोखरा । फेवातालको मापदण्ड र सडक सीमाभित्र अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन पोखरा महानगरपालिकाले १५ दिने अल्टिमेटम दिएको छ। वडा नम्बर १८ को खपौँदी र रातोडाँडा क्षेत्रमा बिना अनुमति निर्माण गरिएका रेस्टुरेन्ट तथा पसललाई महानगरले पत्राचार गर्दै तोकिएको समयभित्र आफैं संरचना हटाउन निर्देशन दिएको हो।

बुधबार महानगरले लेजी बी रेस्टुरेन्ट, क्यालिफोर्निया गार्डेन र कफी सपलाई छुट्टाछुट्टै पत्र पठाएको जनाएको छ। फेवातालको ‘तालघर’ सीमांकन सम्पन्न भइसकेपछि त्यस क्षेत्रभित्र निर्माण भएका संरचना हटाउने काम सुरु गरिएको महानगरको भनाइ छ। सीमांकनअघि बनेका संरचनाको हकमा भने प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने बताइएको छ।
महानगरका अनुसार खपौँदीस्थित लेजी बी रेस्टुरेन्ट र क्यालिफोर्निया गार्डेनले तालघरभित्रै संरचना निर्माण गरेका छन्। यसअघि पटक–पटक मौखिक जानकारी दिँदा तथा निर्माण सामग्री नियन्त्रणमा लिँदासमेत अटेर गरी काम जारी राखिएको दाबी महानगरको छ। बिदाको दिन, रातिको समय र मानिसको आवतजावत कम हुने बेला काम तीव्र बनाइएको उल्लेख गरिएको छ। तालको मापदण्ड मिचेर बनेका कतिपय क्याफे तथा पसल दर्ताविहीन रहेको र चर्को शुल्क लिने गरिएको पनि पाइएको छ।
रातोडाँडास्थित कफी सपले सडक मापदण्डभित्रै र दुर्घटनाको जोखिम हुने गरी संरचना बनाएको महानगरले जनाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा १५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार महानगरले आफैं हटाउने र लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिइएको छ। यसबारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामलाई समेत जानकारी गराइएको छ।
यसअघि सोमबार सेदी र रातोमाटो डाँडामा बनेका अवैध संरचना भत्काइएको थियो। सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार चाँडै तालघरभित्रका सबै संरचना हटाउन सार्वजनिक सूचना जारी गरिनेछ। सर्वोच्च अदालतले तालघरबाट ६५ मिटर क्षेत्र खाली गरी हरियाली क्षेत्रका रूपमा विकास गर्न आदेश दिएकाले सोहीअनुसार उच्च बहाव क्षेत्र पहिचान गरी पोल गाड्ने कामसमेत सम्पन्न भइसकेको छ।

















