पोखरा । गुणस्तरीय शिक्षासँगै चरित्र निर्माण र जीवनोपयोगी सीप विकासलाई प्राथमिकता दिने उद्देश्यसहित पोखरा ग्रामर स्कुल आगामी शैक्षिक सत्रदेखि सञ्चालन हुने भएको छ । व्यवहारिक, अनुशासित र मूल्यमा आधारित शिक्षालाई संस्थाले प्राथमिकता दिने फिस्टेल समूहका अध्यक्ष तथा स्कुलका संरक्षक चिनु रानाभाटले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित साविकको फिस्टेल एकेडेमीको परिसरमा विद्यालय सञ्चालन हुनेछ । फिस्टेल समूहले काठमाडौँ बाहिरको एकमात्र IB world स्कुलका रूपमा परिचित फस्टिेल एकेडेमी सञ्चालन गर्दै आएको छ । व्यवहारिक ज्ञान, गुणस्तरीय तथा चरित्रवान विश्व नागरिक तयार पार्ने र विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम नागरिक उत्पादन गर्नेगरी ग्रामर स्कुल अगाडि बढेको अध्यक्ष एलिस रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक उपलब्धिसँगसँगै दीर्घकालीन भविष्य निर्माणलाई विद्यालयले प्राथमिकता राखेको छ ।
विदेशमा अध्ययन गरी स्वदेश फर्किनुभएका विद्यालयका अध्यक्ष एलिस रानाभाटले विदेशमा प्राप्त गरेको ज्ञान र अनुभवलाई स्वदेशमै कार्यान्वयन गर्न आफू तेस्रो पुस्ताको प्रतिनिधिका रूपमा शिक्षा क्षेत्रमा लागेको बताउनुभयो । फिस्टेल एकेडेमीमा रहेको शैक्षिक वातावरण, सुविधा र प्रगतिशील दृष्टिकोणलाई यहाँ पनि कार्यान्वयन गरिने उहाँको भनाइ छ । फिस्टेल समूहले शिक्षा क्षेत्रमा बनाएको विरासतलाई कायम राख्दै शिक्षा क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्नेगरी आफूले जिम्मेवारी सम्हालेको उहाँको भनाइ छ ।
विद्यालयमा प्रारम्भिक बाल शिक्षादेखि माध्यमिक तहसम्मको संरचना रहनेछ । शैक्षिक संस्कृतिमा जापानी अनुशासन, समयपालन, स्वच्छता र आत्म–जिम्मेवारीका सिद्धान्तलाई आत्मसात् गरिने जनाइएको छ । शैक्षिक उत्कृष्टतासँगै नैतिकता, नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व विकासमा विशेष जोड दिइनेछ । एलिसका अनुसार सह–पाठ्यक्रमतर्फ कला, संगीत, योग, मार्सल आर्ट, वातावरणीय सचेतना र सामुदायिक सेवा कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।अनुशासनलाई सफलताको मेरुदण्ड, सम्मानलाई सहअस्तित्वको आधार र जिम्मेवारीलाई नेतृत्वको शक्ति मान्दै विद्यालयले आधुनिक प्रविधि र स्थानीय सांस्कृतिक मूल्यको संयोजनमार्फत नयाँ शैक्षिक मापदण्ड स्थापना गर्ने उद्देश्य लिएको छ ।