कास्कीमा एक महिनामा १७४ वटा मुद्दा दर्ता, १ सय २ जना पक्राउ

कास्कीमा एक महिनामा १७४ वटा मुद्दा दर्ता, १ सय २ जना पक्राउ

125 arested kaski police

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत माघ महिनामा सम्पादित गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार माघ महिनामा कुल १७४ वटा मुद्दा दर्ता भएका छन् भने १०२ जना प्रतिवादी पक्राउ परेका छन्।

अपराध अनुसन्धान तथा नियन्त्रण

दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका ८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४, आर्थिक अपराध ८६ र अन्य ७६ रहेका छन्। फैसला कार्यान्वयनतर्फ २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १९ वर्ष १३ दिन कैद असुली हुनुका साथै २६ लाख ६९ हजार ९४ रुपैयाँ बिगो रकम उठाइएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सामाजिक हिंसाका ६४ वटा ठाडो उजुरी परेका छन्। घरेलु हिंसाका १८ घटना दर्ता भएकोमा ३ मुद्दा अदालत पठाइएको छ। सबैभन्दा बढी घटना पोखरा महानगरपालिका क्षेत्रमा र सबैभन्दा कम रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा दर्ता भएका छन्। हराएका ६२ जनामध्ये ४६ जना फेला परेका छन् भने अघिल्लो महिनामा हराई यसै महिनामा २० जना भेटिएका छन्।

लागूऔषध र आत्महत्या

माघमा ब्रुफिन ७३ एम्पुल, डाइजेपाम ६४ एम्पुल, फेनारगन ७३ एम्पुल, ब्राउनसुगर २४.१०० ग्राम र ट्यापेण्डाडोल ७० ट्याब्लेट बरामद गरिएको छ। लागूऔषध सम्बन्धी कसुरमा १२ जना पुरुष पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्की सूचना  अधिकारी  एवं डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । आत्महत्या सम्बन्धी ९ घटना दर्ता भएका छन्, सबै झुण्डिएर आत्महत्या गरेका घटना हुन्। मृतकमध्ये ४ महिला र ५ पुरुष रहेका छन्।

हतियार बरामद र फरार पक्राउ

माघ महिनामा भएका मुख्य घटनामध्ये प्रहरी हतियार लुटपाट प्रकरणमा २ जना पक्राउ परेका छन्। उनीहरूको बयानका आधारमा लुकाइछिपाइ राखिएको इन्सास राइफल बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी २४.१५ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट नगद १ लाख ४२ हजार रुपैयाँ, डिजिटल तराजु र मोबाइलसमेत बरामद भएको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ। साथै फेवातालमा जाल हाल्ने क्रममा एक थान एसएलआर राइफल र १८ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार १५ जना प्रतिवादीलाई पुनः पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको छ।

शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन

माघ महिनामा १,८८५ पिकेट, २,०३ चेकिङ, १,५८४ मोबाइल गस्ती र २,५६८ मोटरसाइकल गस्ती परिचालन गरिएको छ। विभिन्न राजनीतिक तथा सार्वजनिक कार्यक्रमहरूमा समेत सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनाका १४ घटना दर्ता भएका छन्। दुर्घटनामा ६ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट ३३ लाख ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। आगलागीका १२ घटनामा १ जनाको मृत्यु भएको छ भने करिब ७ लाख २६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्राकृतिक सम्पदा दोहनमा संलग्न ५ वटा टिप्पर नियन्त्रणमा लिई ९० हजार रुपैयाँ राजस्व कारबाही गरिएको छ। माघ महिनामा २३ थान अवैध हतियार बरामद गरिएको छ। निर्वाचन अवधिमा व्यक्तिहरूको नाममा रहेका १०१ थान वैध हतियार संकलन गरिएको प्रहरीले जनाएको छ।

समुदाय–विद्यालय केन्द्रित कार्यक्रम

समुदाय केन्द्रित १३६ वटा कार्यक्रममार्फत ५,७८५ जनालाई सचेतनामूलक प्रशिक्षण दिइएको छ। विद्यालय केन्द्रित ३० कार्यक्रममा १,९३० विद्यार्थी सहभागी भएका छन्। माघ महिनामा ९ हजार ८ सय १८ सेवाग्राहीले सेवा लिएका छन्। प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धिका लागि २७ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ भने महिला प्रहरी कर्मचारीहरूका लागि सिक्लेसमा अवलोकन भ्रमणसमेत आयोजना गरिएको छ। नवप्रवर्धनात्मक कार्यअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ४५ ट्राफिक कोन राखिएको तथा जेनजी आन्दोलनमा क्षति पुगेको वडा प्रहरी कार्यालय बगरको मर्मत सम्पन्न गरी सेवा पुनः सञ्चालन गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया