अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

IMG_5606

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा पोखरा कार्यालयले आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो । राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । ‘सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउन आवश्यक छ ।’ उहाँले भन्नुभयो – ‘शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्दछ ।’

अहिलेको समयमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने पनि उहाँको सुझाव थियो । यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

‘सरकारी कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व हो । आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन भन्नेमा म विश्वस्त छु ।’ उहाँले भन्नुभयो । हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिएको बताउँदै उहाँले भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिएको बताउनुभयो ।

‘भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई हो । आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ ।’ उहाँले भन्नुभयो– ‘मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेको भन्ने मेरो बुझाई छ ।’ आयोगले नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धनमा गरेको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उहाँले स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रुपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै