पोखरा । पोखराको पृथ्वीचोकमा पोखरामै उद्योग रहेको दिगो फुटवेयर इन्डष्ट्रिजका उत्पादनहरुको सोरुम खुलेको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दिगोको सो सोरुमको उद्घाटन गरे ।

पोखराका दुईजना युवाहरु हरिप्रसाद भण्डारी र राजेश भण्डारी पोखरा पस्र्याङमा रहेको सो उद्योगको संचालक हुन् । यो कम्पनीले पोखरामै अन्तर्राष्ट्रिय गुणस्तरका जुत्ता–चप्पलहरु उत्पादन गर्छ । स्वदेशमै केही गरौँ र रोजगारी पनि सिर्जना गरौँ भन्ने उद्देश्यले जुत्ता उद्योग स्थापना गरिएको प्रबन्ध संचालक हरिप्रसाद भण्डारीको भनाइ छ । गुणस्तरमा सम्झौता नगरिएका दिगोका उत्पादनहरु सस्तो र नेपालीको खुट्टा सुहाउँदो भएको पनि उनले जिकिर गरे । पृथ्वीचोकजस्तो व्यस्त र महँगो ठाउँमा सोरुम राखिएकाले उपभोक्ताको हितलाई ध्यानम राख्दै सोरुममा अन्य कम्पनीका केही उत्पादनहरु पनि राखिएको अर्का संचालक राजेश भण्डारीले बताए ।
उद्घाटन समारोहलाई संवोधन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अर्काको उत्पादन बेचेर धनी बन्न सकिएला तर राष्ट्रको अर्थतन्त्रमा योगदान गर्न नसकिने तथ्य मनन गर्न युवाहरुलाई आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघ स्वदेशमा उत्पादित कच्चा पदार्थको समुचित उपयोगको पक्षमा रहेको बताउँदै उनले काँचो छाला संकलन र बिक्रीका लागि हिजो राज्यस्तरबाट गरिएका प्रयत्नहरु अझ सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । कृषिलाई यहाँको पर्यटन उद्योगसँग जोड्न सके पोखराको आर्थिक अवस्था सुधार हुने र रोजगारी पनि बढ्ने उनको भनाइ थियो । कार्यक्रममा जुत्ता व्यवसायी संघका संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली,कपडा व्यवसायी संघका अध्यक्ष लेखनाथ पौडेल,कपडा व्यवसायी संघका पूर्वअध्यक्ष विष्णुप्रसाद तिमिल्सिनालगायतले मन्तव्य राखेका थिए ।