पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपालको फाइनल खेल्ने चाहनामा बंगालादेश तगारो बनेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा बङ्गालादेशसँग ४—० गोल अन्तरले परािजतसँगै नेपाल लिग चरणबाट बाहिरिएको हो ।

प्रतियोगितामा नेपाल र भुटान बाहिरिएपछि फाइनल खेल बङ्गालादेश र भारतबिच शनिबार हुनेछ । बुधबार भएको खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले ह्याट्रिक पूरा गर्दा प्रतिमा मुन्डाले एक गोलको योगदान दिनुभयो । खेलको ३ मिनेटमै नेपालले गोलको सामना गर्याे ।प्रोतिमा मुन्डाले प्रहार गरेको कर्नर बल पोस्टमा छिरेको थियो । पहिलो हाफको अतिरिक्त समयमा अल्पी अक्तरले फ्रिकिक बललाई गोलमा परिणत गरेर अग्रता दोब्बार पार्नुभयो । खेलको ६७ औँ मिनेटमा नेपालकी किपर झरना डुम्राकोटी बिट भएको अवस्थामा अल्पी अक्तरले प्रहार गरेको बलले जाली चुमेको थियो ।
खेलको ८२ औँ मिनेटमा अल्पी अक्तरले अर्को गोल गरेर ह्याट्रिक पूरा गर्दा नेपाल ४—० ले पराजित हुन पुग्यो । बङ्गालादेशसँगको खेलमा नेपालले केही गोल गर्ने अवसरलाई गुमायो । खेलको १४ औँ मिनेटमा प्रजिता राइले डिबक्स्बाट हेड गरेको बललाई बिपक्षी किपर यर्जान बेगुमले बचाउ गर्नुभयो । नेपालका प्रशिक्षक सुमन श्रेष्ठले सुरुमै गोल खाएर दबाब परेपनि बलियो टिमसँग नेपाली टिमले राम्रो खलेको बताउनुभयो । बङ्गालादेशका प्रशिक्षक पिटरले पनि स्कोर निकाल्न कठिन भएको भन्दै नेपालले राम्रो खेलको बताउनुभयो । बुधबारको खेलमा नेपालकी माया मास्केलाई रेफ्रीले रेड कार्ड देखाउनुभयो ।
बुधबार नै भएको भारत र भुटानको खेलमा ८—० गोलले भारत विजयीहुँदै फाइनल पुगेको छ । भारतका लागि पाअरलले ह्याट्रिक पूरा गर्दा प्रितिका बरामनले २ गोल, अलिसा ल्योङ्गहोड, अभिस्ता बस्नेत र दिभयानी लिन्डाले एक÷एक गोलको योगदान दिनुभयो । खेलमा भुटानले खासै राम्रो मुभ बनाउन सकेन । शनिबार फाइनलमा भारत र बङ्गालादेशबिच फाइनल हुनेछ । प्रतियोगितामा बङ्गालादेश अपराजित टिम हो भने यसअघि भारतलाई २ गोलले पराजित गरेको थियो । शनिबार भारत बदला लिने र बङ्गालादेश जितलाई कायमै राख्ने दाउमा हुनेछन् । प्रतियोगितामा ४ देश सहभागी भएका थिए ।