पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपाल विजयी भएको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा नेपालले भुटानलाई २—१ गोलले पराजित गरेको हो । नेपालको लागि सिर्जना बडुवाल र प्रतिजा राइले गोल गर्नुभयो । भुटानका लागि सोनम छोदेनले एक गोल गर्नुभयो ।

खेलको ३६ औँ मिनेटमा सिर्जना बडुवालले मैदानको मध्ये भागबाट एक्लै अगाडि बढाएको बललाई डि एरियाबाट पोस्टमा प्रहार गर्दा गोलमा परिणत भएको थियो । खेलको ६९ औँ मिनेटमा वर्षा ओलीले डिबक्स नजिकै मिलाइदिएको पासलाई प्रजिता राइले पोस्टको दिशा दिनुभएको थियो । नेपालले केही राम्रा अवसरलाई सदुपयोग गर्न भने चुक्यो । भुटानकी सोनम छोदेनले खेलको ८८ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा बललाई पोस्ट चार्ज गर्दा जाली चुमेको थियो ।
नेपालका प्रशिक्षक सुमन श्रेष्ठले खेल जितेपनि खेलाडीको खेलप्रति असन्तुष्टि जनाउनु भयो । प्रशिक्षण क्रममा सिकाइएको टेक्नकिल्ली र ट्याक्टिकल्ली खेलाडीले खेल्न नसकेको भनाइ उहाँको छ । भुटानका प्रशिक्षक टंकमाया घलले स्कोर गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो । नेपालले एकमा हार र एकमा जित निकालेको छ भने अब बुधबार बङगालादेशसँग खेल्नेछ ।
यसअघि सोमबार नै भएको खेलमा बङगलादेशले विजयी यात्रा कायमै राखेको छ । पोखरा र रङ्गशालामा भएको खेलमा बंगालादेशले भारतलाई २—० गोले पराजित गरेको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी छन् । प्रतियोयगिता २४ गतेसम्म चल्नेछ ।