राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो, कांग्रेस पहिलो पार्टी

राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो, कांग्रेस पहिलो पार्टी

rastriya shava

काठमाडौँ । राष्ट्रिय सभामा दलगत हैसियतमा परिवर्तन आएको छ । हिजो सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनपछि नेपाली कांग्रेस माथिल्लो सदनको सबैभन्दा ठूलो दल बनेको छ । यसअघि सबैभन्दा ठूलो दल रहेको नेकपा (माओवादी केन्द्र) अब दोस्रो स्थानमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार माघ ११ गते भएको निर्वाचनबाट छ वर्षे कार्यकालका लागि १८ जना सदस्य निर्वाचित भएका छन् । संविधानको व्यवस्था अनुसार प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुने भएकाले २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा यो निर्वाचन भएको हो ।

मतपरिणामअनुसार एक जना निर्विरोधसहित नेपाली कांग्रेसका नौ जना सदस्य निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट आठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट एक जना निर्वाचित भए । मधेश प्रदेशको अन्य समूहबाट लोसपाका महन्थ ठाकुर विजयी हुनुभएको हो । जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू भने निर्वाचित हुन सकेनन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा अन्य समूहबाट निर्विरोध निर्वाचित हुनुभयो । फागुन २१ गतेपछि राष्ट्रिय सभामा कांग्रेसका सदस्य संख्या २४ पुग्ने छ । त्यससँगै नेपाली कम्युनिस्ट पार्टी दोस्रो र नेकपा (एमाले) दस सदस्यसहित तेस्रो ठूलो दल रहने छ । हाल १९ सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ ।

निर्वाचन आयोगले अन्तिम परिणाम सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्ने र राजपत्रमा प्रकाशन गर्नेछ । संघीय संसद् सचिवालयले परिणाम प्राप्त भएपछि शपथग्रहणको कार्यक्रम तय गर्ने जनाएको छ । शपथ भने कार्यकाल सुरु हुनुअघि नै हुनेछ, तर निर्वाचित सदस्यको औपचारिक भूमिका फागुन २१ गतेदेखि मात्र सुरु हुनेछ । यस निर्वाचनमा ९५.६७ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । कुल दुई हजार ११ मतदातामध्ये एक हजार ९२४ जनाले मतदान गरेका थिए । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १९ कायम गरिएको थियो ।

प्रदेशगत रूपमा हेर्दा सातै प्रदेशबाट महिला, दलित, अपाङ्गता/अल्पसङ्ख्यक र अन्य समूहका सदस्यहरू निर्वाचित भएका छन् । निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभाको सदस्य संख्या ५९ हो

प्रतिक्रिया