कांग्रेस सभापति थापाले भने, ‘अब कांग्रेसमा गुटबन्दी हुँदैन’

कांग्रेस सभापति थापाले भने, ‘अब कांग्रेसमा गुटबन्दी हुँदैन’

Gagan-K-Thapa

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगले विधान र कानुनसम्मत निर्णय गरेको भन्दै पार्टीमा अब गुटबन्दीको अन्त्य भएको घोषणा गरेका छन् । निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि शुक्रबार (माघ २ गते) प्रेस विज्ञप्ति जारी गर्दै थापाले पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका हुन् ।

विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेकोमा उनले आभार व्यक्त गरेका छन् । ‘यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन,’ थापाले विज्ञप्तिमा भनेका छन्, ‘कुनै अलमलमा नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ र एकताबद्ध रहौँ ।’

‘देउवाको साथ पाउने विश्वास छ’

सभापति थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरूको साथ पाउने विश्वास व्यक्त गरेका छन् । ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवा लगायत पार्टीका विभिन्न तह र निकायमा रहेका साथीहरूबाट यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ । थापाले आजकै मितिबाट कांग्रेसमा गुटबन्दी अन्त्य भएको उद्घोष गरेका छन् । ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,’ उनले भनेका छन्, ‘जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको हैसियत समान हो, समान हुनेछ ।’

उनले अब कांग्रेसले सत्ताका लागि जोसँग जहिले पनि ‘अप्राकृतिक गठबन्धन’ गर्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस अब आफ्नै मूल्य, मान्यता र आदर्शमा फर्किएको उनको भनाइ छ ।

आगामी निर्वाचनको तयारी

आसन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत भएका वा नभएका सबैलाई समेटेर अघि बढ्ने उनले बताए । ‘अब कांग्रेस बदलिएको छ, बदलिनेछ,’ थापाले भनेका छन्, ‘एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ ।’ उनले ‘रिफर्म’ (सुधार) को यात्रा सुरु भइसकेको भन्दै विगतका कमजोरीप्रति आत्मालोचना गर्दै अघि बढ्ने संकल्प गरेका छन् ।

प्रतिक्रिया

भर्खरै