कास्कीमा २३०३ म्यादी प्रहरी माग, माघ १ गतेसम्म आवेदन दिन सकिने

कास्कीमा २३०३ म्यादी प्रहरी माग, माघ १ गतेसम्म आवेदन दिन सकिने

police

तस्बिर : म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालयमा लामवद्ध भएकाहरु । तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की ।

पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कास्की जिल्लामा ठूलो संख्यामा म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, कास्कीले बिहीबार एक सूचना जारी गर्दै २ हजार ३ सय ३ जना म्यादी प्रहरी माग गरेको हो। इच्छुक नेपाली नागरिकले  माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाको दिनमा पनि दरखास्त दिन सकिने समितिले जनाएको छ।

कहाँ दिने आवेदन?

दरखास्त फाराम लिन र बुझाउनका लागि कास्कीमा दुई वटा स्थान तोकिएका छन्:
१. जिल्ला प्रहरी कार्यालय, गैह्रापाटन, कास्की।
२. सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण, मालेपाटन, पोखरा।

योग्यता र प्राथमिकता

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नरहेका नेपाली नागरिकले यसमा आवेदन दिन सक्नेछन्।

भर्नामा पूर्व सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी), पूर्व वन रक्षक, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका व्यक्तिहरू र यसअघिका निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरेका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

आकर्षक सेवा र सुविधा

४० दिनको कार्यावधिका लागि भर्ना गरिने म्यादी प्रहरीले आकर्षक पारिश्रमिक र सुविधा पाउनेछन्:

  • पारिश्रमिक: प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनको जम्मा ३४,७७६ रुपैयाँ
  • खाद्यान्न बापत: रासनको दररेट अनुसारको रकम।
  • तयारी खर्च: एकमुष्ठ ८४६ रुपैयाँ
  • खाजा खर्च: प्रतिदिन ३०० रुपैयाँका दरले ४० दिनको जम्मा १२,००० रुपैयाँ
  • पोशाक: नेपाल प्रहरी/सशस्त्र प्रहरीको प्रधान कार्यालयले तोके बमोजिमको रकम।
  • सबै रकम म्यादी प्रहरीको व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ।

छनोट प्रक्रिया र तालिम

आवेदन परेका व्यक्तिहरूको छनोट प्रक्रिया माघ ५ गतेदेखि माघ ९ गतेसम्म चल्नेछ। अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ भने सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि माघ २४ गतेसम्म सञ्चालन हुने समितिले जनाएको छ।

आवश्यक कागजातहरू

दरखास्त दिँदा नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो अनिवार्य पेश गर्नुपर्नेछ। पूर्व सुरक्षाकर्मी वा म्यादी प्रहरीको हकमा सो सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्नेछ।थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको फोन नम्बर ०६१-५७७००० वा सशस्त्र प्रहरीको ०६१-५४४०८८ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया