काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । उक्त कार्यतालिकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८-३१ मा काठमाडौंमा हुनेछ ।

यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेकाले त्यो कार्यतालिका परिमार्जनसहित बहुमतले पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनकाअनुसार बैठकले केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप्ने निर्णयसमेत गरेको छ । यसअघि मंसिर १५ को बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । त्यस्तै तल्ला कमिटीका म्यादहरु पनि विधानको व्यवस्थाअनुसार थप हुने उनले प्रस्ट पारे ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारीमा बस्न १४ औं महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
