काठमाडौं । नक्कली नोटको कारोबार गरेकाे आरोपमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल ९ महिना १६ गते राति करिब ९:३० बजे चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा एक हजार दरका नक्कली नोट ९३ थान फेला परेपछि उक्त समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेहरूमा जिल्ला सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ घर भई हाल काठमाडौं शंखरापुर नगरपालिका–४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, सोही स्थानमा बस्ने ४४ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ रहेका छन्।

यसैगरी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई हाल शंखरापुर नगरपालिका–६ बस्ने ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई सोही स्थानमा बस्ने ६५ वर्षीय गोकर्ण थापा तथा काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सुकबहादुर स्याङ्बो पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई नक्कली नोट कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। नक्कली नोट कहाँबाट ल्याइएको र कति समयदेखि कारोबार भइरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।


















