एमालेको समानुपातिक सूचीमा झापाको बर्चस्व : ९ जना अटाउँदा २१ जिल्ला रित्तै

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झापा जिल्लाको स्पष्ट दबदबा देखिएको छ । पार्टीका अन्य संरचनामा जस्तै समानुपातिक सूचीमा पनि झापाले नै सबैभन्दा बढी प्रतिनिधित्व पाएको छ भने देशका २१ जिल्लाबाट एक जना पनि सूचीमा पर्न सकेका छैनन् ।

झापाको ‘पावर’ : केन्द्रीय कमिटीदेखि समानुपातिकसम्म
एमालेको निर्णय प्रक्रिया र नेतृत्वमा झापाको प्रभाव कति छ भन्ने कुरा पछिल्लो बन्दसूचीले प्रस्ट पार्छ । गत पुस १४ गते बुझाइएको सूची अनुसार झापाबाट मात्रै ९ जना समेटिएका छन् । जसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो रहेका छन् ।

यसअघि एमालेको केन्द्रीय कमिटीमा पनि अध्यक्ष केपी शर्मा ओलीसहित झापाका २६ जना चयन भएका थिए । अझ रोचक कुरा त, ओलीकै निर्वाचन क्षेत्र (झापा ५) बाट मात्रै केन्द्रीय कमिटी र आयोग सदस्य गरी १४ जनाले प्रतिनिधित्व गरिरहेका छन् ।
काठमाडौँ र धनुषाबाट ७–७ जना
झापापछि काठमाडौँ र धनुषा जिल्लाबाट समानुपातिक सूचीमा धेरैको प्रतिनिधित्व छ ।
काठमाडौँ (७ जना): लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडे ।
धनुषा (७ जना): उर्मिला देवी पासवान, यशोदा कुमारी यादव, मन्जु महतो, रेणु साह, अरविन्द साह, राम चरित्र साह र चन्द्रेश्वर यादव ।
अन्य जिल्लाको अवस्था
बन्दसूचीमा पाल्पा, कैलाली र चितवनबाट ४–४ जना समेटिएका छन् ।
पाल्पा: हीरासरा राना, ओमबहादुर घर्ती, थानेश्वरप्रसाद बस्याल र रोजी खातुन ।
कैलाली: लीलाकुमारी भण्डारी, हरिशंकर योगी, इच्छा कुमारी चौधरी र सावित्रा घिमिरे ।
चितवन: रामबहादुर थापा मगर, सन्तबहादुर प्रजा, प्रभा बराल र यमबहादुर परियार ।
यस्तै धादिङ, काभ्रेपलाञ्चोक, सिराहा र महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ३–३ जनाको प्रतिनिधित्व रहेको छ ।
दाङ: कोमल वली, शान्ता चौधरी र साजिदा सिद्दिकी ।
धादिङ: गंगादेवी श्रेष्ठ, क्रान्ति बुर्लाकोटी र डा. पुष्प कँडेल ।
काभ्रे: भक्तकुमारी लामा, सुमित्रा राजवंशी र इन्द्रबहादुर तामाङ ।
सिराहा: आशाकुमारी यादव, चन्द्रेश्वर मण्डल र राजेश अग्रवाल ।
ललितपुर, मोरङ, उदयपुर, लमजुङ, कास्की, स्याङ्जा, कञ्चनपुर, कालिकोट, पर्वत, बाँके, कपिलवस्तु, बारा, सर्लाही, अछाम र बझाङबाट दुई-दुई जनाको प्रतिनिधित्व छ। कास्कीबाट दलबहादुर गुरुङ र दीपकबहादुर पौडेलको नाम छ । पाँचथर, इलाम, खोटाङ, सुनसरी, म्याग्दी, धनकुटा, मुस्ताङसहित ३० जिल्लाबाट एकएक जनाको प्रतिनिधित्व छ। २१ जिल्लाबाट कसैको पनि प्रतिनिधित्व छैन।
प्रमुख जिल्लाहरूबाट बाक्लो उपस्थिति रहँदा २१ जिल्लाबाट भने कुनै पनि नेताको नाम समानुपातिक सूचीमा नअटाउनुले एमालेभित्र क्षेत्रीय सन्तुलनको विषयमा चर्चा सुरु भएको छ ।