पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइड अब फेरि उत्सवमय बन्दैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले आइतबारदेखि सुरु हुने २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ को सबै तयारी पूरा गरेको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने यो महोत्सवले फेवाताल किनारको साढे ३ किलोमिटर सडकलाई झिलिमिली पार्नेछ ।

महोत्सवमा यसपालि सांगीतिक माहोल निकै तातिएको छ । सबैभन्दा रोचक कुरा त ३ दशकपछि ‘एक्स–नेपथ्य’ का पुराना सारथिहरू रविन श्रेष्ठ र गौतम गुरुङ एउटै मञ्चमा गुञ्जिनेछन् । कोमागाने पार्कमा हुने ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा उनीहरूसँगै डी–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ ब्यान्डमार्फत दर्शकलाई नचाउनेछन् । यस्तै काठमाडौंबाट विशेष प्रस्तुतिका लागि आस्मा विश्वकर्मा, स्वप्न सुमन, केहर एन्ड द लुंगा र चक्र ब्यान्ड आउने आयोजकले बताएका छन् ।

महोत्सवमा मनोरञ्जन मात्र होइन, सचेतनामूलक सडक नाटक र पोखराको पर्यटनबारे ‘टक शो’ पनि चल्नेछ । पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग हात मिलाउँदै आयोजना गरिएको यो महोत्सवले लाखौं पर्यटक भित्र्याउने र आर्थिक मन्दीलाई बिर्साउने अपेक्षा गरिएको छ । नयाँ वर्षको यो साता लेकसाइडको सडकमा रमाउन आयोजकले सबैलाई खुल्ला निम्तो दिएका छन् ।
