सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगबाट वर्षमै ३९ हजारको निधन

सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगबाट वर्षमै ३९ हजारको निधन

smoking2025-12-25-06-54-56

काठमाडाैं । सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सरकारको भूमिका फितलो हुँदा यसको सेवनबाट लाग्ने रोगका कारण वर्षमै ३९ हजार नागरिकले ज्यान गुमाएका छन् । यति मात्रै होइन, सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको मात्र वार्षिक ५५ अर्ब खर्च हुने गरेको छ, जुन यसको राजस्वबाट हुने आम्दानीभन्दा दोब्बर हो ।

स्वास्थ्य मन्त्रालयले संकलन गरेको आँकडाअनुसार सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण मृत्यु हुनेको संख्या बर्सेनि बढ्दो दरमा छ । सन् २०२४ मा ३९ हजार दुई सयको ज्यान जाँदा त्यसअघि सन् २०२२ मा २८ हजार ११० को मृत्यु भएको थियो । त्यस्तै, सन् २०१९ मा २४ हजार आठ सय, सन् २०१८ मा २७ हजार २३७ जनाको मृत्यु भएको थियो । वर्षैपिच्छे अध्ययन नभए पनि नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण बर्सेनि ३९ हजारले ज्यान गुमाउँछन् ।

स्वास्थ्य मन्त्रालयले सन् २०२४ मा संकलन गरेको आँकडाअनुसार नेपालमा सन् २०२४ मा ३९ हजार दुई सयको सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण मृत्यु भएको थियो । त्यसअघि मन्त्रालयले नै गरेको अध्ययनअनुसार २०२२ मा २८ हजार ११०, सन् २०१९ मा २४ हजार आठ सय, सन् २०१८ मा २७ हजार २३७ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु भएको थियो । केही वर्षको अन्तरमा हुँदै आएको अध्ययनमा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको छ ।

सुर्तीजन्य पदार्थको सेवनले एकातिर अकालमा ज्यान गएको छ, अर्कोतिर यसको सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको तर्फबाट मात्रै वार्षिक ५५ अर्ब खर्च हुने गरेको छ । यो सरकारले सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने विभिन्न जटिल रोगका लागि दिने नि:शुल्क औषधोपचार, बिमालगायतको खर्च हो  । यसमा व्यक्तिको तर्फबाट हुने निजी खर्च जोडिएको छैन ।

‘सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने क्यान्सर, टिबी, दीर्घरोगलगायतमा सरकारले वार्षिक औसत ५५ अर्ब खर्च गर्छ । क्यान्सरमध्ये ९० प्रतिशत त सुर्तीजन्य पदार्थ सेवनका कारणले नै हुन्छ । यसमा पनि मुख र फोक्सोको क्यान्सर बढी हुनुको कारण सुर्तीजन्य पदार्थको प्रयोग हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘सुर्तीजन्य पदार्थबाट प्राप्त हुने राजस्वभन्दा यसको सेवनबाट लाग्ने रोगको उपचारमा राज्यले गर्ने खर्च दोब्बरभन्दा धेरै छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२४ मा तयार पारेको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्ने ६८ लाख ८० हजार व्यक्ति छन् । सुर्तीजन्य पदार्थमा हुने निकोटिनको लतका कारण युवाहरू कडा लागुपदार्थको सेवनमा समेत फस्ने गरेको डा. बुढाथोकी बताउँछन् । यसले सोच्न सक्ने क्षमता, यौन क्षमता र रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउने उनी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया