पोखरा । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलमा गठित सोसल वेलफेयरले कमिटिले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका लागि २५ थान प्लास्टिक कुर्ची, तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, प्याम्पर्स, फलफूल तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसीले विद्यालयले शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गरे। यस्ता सेवामूलक कार्यले विद्यार्थीहरुमा मानवीय संवेदना, सहकार्य र सेवाभाव विकास हुने बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्यनारायण लामिछानेले मानवसेवा आश्रमले असहाय व्यक्तिहरुका लागि गरेको योगदानको प्रशंसा गरे।

सोसल वेलफेयर कमिटिकी प्रमुख गीता पराजुलीले मानव सेवा आश्रम संस्थामा सहयोग गर्न पाउँदा विद्यालय परिवार खुसी भएको बताउँदै आगामी दिनमा पनि सामाजिक गतिविधिहरु सञ्चालन गरिने प्रतिवध्दता व्यक्त गरिन् ।