पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह

पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह

tourism-meet-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न पर्यटकीय सहरमा सिधा उडानका लागि पहल गरिदिन भारतीय पक्षसँग आग्रह गरेका छन्। बिहीबार पोखरामा आयोजित ‘सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट’ मा बोल्दै उनले भारतीय राजदूतावासलाई यस्तो आग्रह गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले पोखराबाट सोचेअनुरूप अन्तर्राष्ट्रिय उडान हुन नसकेको स्वीकार गरे। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न संघ सरकार, प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन व्यवसायीबीच निरन्तर समन्वय र सहकार्य भइरहेको छ।’

नेपाल र भारतबीचको सम्बन्ध इतिहास, संस्कृति र जनस्तरसम्म जोडिएको चर्चा गर्दै उनले पर्यटनले यसलाई अनुभव र विश्वासमा बदल्ने बताए। मुख्यमन्त्री पाण्डेले नेपाल सरकारले हालै भारतीय ५ सय र २ सय दरका नोट नेपालमा चल्ने निर्णय गरेकाले भारतीय पर्यटक र यहाँका व्यवसायी दुवैलाई सहज भएको उल्लेख गरे।

‘पोखरा र गण्डकी प्रदेशमा भारतीय पर्यटकलक्षित धेरै होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन्,’ उनले भने, ‘यहाँ धेरैजसो पर्यटक भारतको बिहार र युपीबाट आउने गरेका छन्।’ उनले भारतीय पर्यटकका समस्या समाधान गर्न प्रदेश सरकारले व्यवसायीसँग छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा भारतीय राजदूतावासका ‘डेपुटी चिफ अफ मिसन’ डा. राकेश पाण्डेले यस्ता कार्यक्रमले दुई देशबीचको पर्यटकीय र जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराई, भारतको उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमार लगायतले दुई देशबीचको पर्यटन साझेदारीमा जोड दिए। सो अवसरमा दुवै देशको संस्कृति झल्किने प्रस्तुति देखाइएको थियो।

भारतीय दूतावास, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, गण्डकीको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगर र नेपाल पर्यटन बोर्डको सहकार्यमा कार्यक्रम भएको हो। परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार कार्यक्रममा सहभागी हुन आएका भारतीय ‘टुर अपरेटर’ तथा ‘सोसल मिडिया इन्फ्लुएन्सर’ को टोलीलाई यसअघि चितवन, बन्दीपुर, बेगनास, पर्वत र बागलुङका पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण गराइएको थियो।

प्रतिक्रिया