पोखरा । कास्की जिल्लाका विभिन्न स्थानहरूमा पछिल्लो समय बढ्दै गएको चोरी घटनाका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा गर्दै आएको अनुसन्धान तथा खोजतलासका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले दुई जनालाई समातिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला प्यूठान स्थायी वतन भई हाल पोखरा महानगरपालिका–३ नदिपुर बस्ने २४ वर्षका सुमित थापा मगर र धादिङ स्थायी वतन भई हाल पोखरा–३ नदिपुर बस्ने २७ वर्षका सुजन परियार रहेका छन्। उनीहरूलाई मिति २०८२।०८।११ गते पोखरा–९ रामघाटबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थपका साथ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
चोरी घटनाहरूको विवरण
पक्राउ परेकाहरूले संलग्न भएका चोरीका घटनाहरू यस प्रकार छन्—

-
मिति २०८२।०६।२७ — पोखरा–१३ विपि मार्गस्थित पोखरा लक्ष्मी ट्रेडर्सको काउण्टर फोरेर रु. ४१,०००, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, बिलबुक तथा नागरिकता भएको ब्याग चोरी। (सुमित थापा मगर संलग्न)
-
मिति २०८२।०८।०४ — पोखरा–४ आदर्श मार्गमा सडक किनारमा पार्किङ गरिएको ग १५ प १०२० नम्बरको होन्डाको डियो स्कुटर चोरी। (दुवै संलग्न)
-
मिति २०८२।०८।०६ — पोखरा–१७ ड्यामसाइडमा आरुस स्टोर्स प्रालिको ढोका फोरेर रु. २,७३,५०० चोरी। (सुमित थापा मगर संलग्न)
-
मिति २०८२।०८।१० — पोखरा–८ न्यूरोडमा पार्किङ गरिएको ग १ क २५९८ नं.को गाडीभित्र रहेको लाइसेन्स, बिलबुक, एटीएम कार्ड, विभिन्न चेक तथा रु. ३५,००० रहेको झोला चोरी। (दुवै संलग्न)
पृष्ठभूमि
-
सुमित थापा मगर — अभद्र व्यवहार, चोरी उद्योग, चोरी तथा सार्वजनिक अपराधलगायतका मुद्दामा ८ पटकसम्म पक्राउ परीकन कारागारमा रहेका उनी २०८२।०५।२४ गतेको Gen-Z आन्दोलनका क्रममा कारागारबाट फरार भई पुनः चोरीमा संलग्न भएको जनाइएको छ।
-
सुजन परियार — यसअघि पनि अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परिसकेका थिए।
प्रहरीका अनुसार दुवै जनाविरुद्ध थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
















