ईश्वर पोखरेल प्यानल बनाएर ओलीसँग अध्यक्षमा प्रतिष्पर्धाको तयारीमा

एमाले महाधिवेशन

ईश्वर पोखरेल प्यानल बनाएर ओलीसँग अध्यक्षमा प्रतिष्पर्धाको तयारीमा

_cpn-uml-1

काठमाडौँ  । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक गरेका छन् । तेस्रो कार्यकालका लागि ओली उठ्ने तयारीमा रहेका बेला पोखरेलले अलग प्यानल बनाएर मैदानमा उत्रिने गृहकार्य अघि बढाएका हुन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन् ।

पोखरेल पक्षमा उपाध्यक्षका लागि युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र महासचिवका लागि गोकर्ण बिष्ट वा योगेश भट्टराईमध्ये एक जना अगाडि सारिँदै छन् । सचिवतर्फ बिन्दा पाण्डे, रघुवीर महासेठ र अन्य केही चाहना राख्नेहरूको नाम पनि चल्न थालेको छ । ज्ञवाली र शाक्य भने आफू उम्मेदवार बन्न अनिच्छुक देखिएका स्राेतको दाबी छ ।

ओली नेतृत्वको प्यानलमा उपाध्यक्षमा पुनः विष्णु पौडेललाई निरन्तरता दिने सम्भावना बढेको छ । महासचिवका लागि प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ दुवै आकांक्षी छन् । शंकर पोखरेलले महासचिव नदोहोरिने अवस्था आएमा उनी उपाध्यक्षमा जाने र ज्ञवाली महासचिवका रूपमा अघि सारिने अनुमान गरिएको छ । उपमहासचिव पदमा एक महिला राख्नुपर्ने भएकाले पद्मा अर्यालको नाम प्रबल देखिन्छ । सचिवमा खगराज अधिकारी, भीमप्रसाद आचार्य, किरण गुरुङ,  शेरधन राईसहित धेरै आकांक्षी छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षका लागि अघि सार्ने प्रयास असफल भएपछि उनको समूह पोखरेलतर्फ उभिएको बताइन्छ । पोखरेलले आफू कुनै व्यक्ति लक्षित गरेर होइन, स्वस्थ प्रतिस्पर्धाका पक्षमा उभिएको बताएका छन् । भदौमा भएको विधान महाधिवेशनले कार्यकारी पदमा राखिएको कार्यकाल सीमा र ७० वर्ष उमेर हद हटाएसँगै ओलीलाई तेस्रो कार्यकालका लागि बाटो खुला गरिएको थियो । सोही बैठकमा अध्यक्षसँग प्रतिस्पर्धा गरेका पुराना नेताहरू पार्टी छाडिसकेकाले आगामी प्रतिस्पर्धा व्यवस्थित र स्वस्थ हुने ओलीको भनाइ छ ।

फागुन २०६५ मा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए । महासचिवमा ईश्वर पोखरेल चयन भएका थिए । असार २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरेल नै चयन भए । त्यस्तै मंसिर २०७८ मा भएको १०औं महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए ।

एमालेले यसपटक पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाएको छ । अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । नयाँ संरचनाअनुसार सचिवालय खारेज गरी सबै पदाधिकारीलाई स्थायी कमिटीको रूप दिइनेछ ।पोलिटब्युरो ८४ सदस्यीय रहनेछ, जसमा धेरै नेता समेटिने सम्भावना छ ।

प्रतिक्रिया