पोखरा । बढ्दो बिरामीको चाप र प्राविधिक विकासलाई मध्यनजर गर्दै हिमालय अस्पतालले अत्याधुनिक, बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । उक्त निर्माण कार्यलाई व्यवस्थित र द्रुत गतिमा अघि बढाउन प्राडा दिलबहादुर क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।
गठित उच्च स्तरीय निर्माण समितिको उपाध्यक्षमा डा नन्द श्रेष्ठ र सदस्य सचिवमा शंकर गुरुङ छन् । सदस्यमा राधिकाकुमारी शाही योगी, शेषबहादुर थापा, दिलीपकुमार शर्मा, अर्जुन बन्जारा, गणेशबहादुर ढकाल र नारायण बराल छन् ।
उक्त समितिले अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि हालसम्म भएका कार्यहरूको समीक्षा गर्ने छ । साथै, नयाँ भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रक्रियालाई यथाशक्य छिटो अगाडि बढाउने निर्णय समेत गरिएको छ । बैठकमा अस्पतालको आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेटबारे पनि छलफल भएको थियो ।