पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुति गरेका थिए ।

बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत् मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँवरले बताए ।कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सिप सिकेकोमा खुसी व्यक्त गरिन् । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरु शान्ति गुरुङ, शोभाकान्त सिग्देल र केशवशरण लामिछनेले विद्यार्थीहरुको प्रस्तुतिमाथि टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी सम्राट गुरुङ बताए । पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थीहरू बिबिए, बिबिए फाइनान्स र बिसिएसआइटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

This will close in 10 seconds