पोखरा । रुपा गाउँपालिका वडा नम्बर ६ भोर्लेका किसानले सामूहिक रुपमा पशुपालन गर्न थालेका छन् । कृषि तथा पुशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तर्गतको आर्थिक कोरिडोर कार्यालय बुटबलसँगको लागत साझेदारीमा रुपा भोर्ले बहुउद्देश्यीय कृषक समूहले सामूहिक गाई भैंसी पालन थालेको हो ।
कृषक समूहको शनिबार भएको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष भूपेन्द्र खड्काले स्वच्छ दूध उत्पादनका लागि गाई भंैसी पालन (उपआयोजना) सञ्चालन गरेको जानकारी दिए । सहयोगी निकाय आर्थिक कोरिडोर कार्यालय बुटबलका कृषि अधिकृत पुरुषोत्तम सुवेदीले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना अन्तर्गत १ करोड ४२ लाखको लागतमा कृषक समूहले रुपा ६ भोर्लेमा गाई भैंसी पाल्न लागेको बताए ।
उत्पादनमूलक साझेदारीमा हरेक किसानको ५० प्रतिशत योगदान रहने जानकारी दिँदै उनले ४ लाखको काममा किसानले २ लाख अनुदान पाउने उल्लेख गरे । कृषक समूहका अध्यक्ष खड्काले पहिलो ‘कोसेढुंगा’ अन्तर्गत गाई भैरीको गोठ, कम्पोस्ट पिट (मल),आहारा भण्डारण कक्ष, युरिन पिट (पिसाब संकलन) तारबार जाली, पानी टंकी, पर्खाल लगायतका भौतिक पूर्वाधारको काम भएको बताए ।दोस्रो कोसेढुंगा अन्तर्गत गाई भैंसी तथा मेसिन यन्त्रको खरिद, दूध दुहुने मेसिन, तौलिने मेसिन, दाना तालिम खोपको व्यवस्था गर्ने उनले उल्लेख गरे । ‘कृषक समूहको नाममा जग्गा खरिद भएको छ । समूहले गर्न लागेको पशुपालन किसानको सामूहिक काम हो,’ उनले भने, ‘राज्यको समेत अनुदान जोडिएको समूहको व्यवसायबाट किसानले सामूहिक प्रतिफल पाउने छन् ।’
सन २०२१ देखि सुरु भएको आयोजना २०२५ सम्म सञ्चालन हुनेछ । कास्कीका ५ पालिकासहित गोरखा, लमजुङ, पर्वत, बागलुङका २१ पालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको कार्यक्षेत्र पर्ने उनले उल्लेख गरे । कृषि व्यवसाय विज्ञ विष्णुदयाल सिंहले लगानीबाट प्रतिफल लिनका लागि चासो राख्नुका साथै सामूहिक र संस्थागत रुपमा काम गर्न सुझाव दिए । आगामी दिनमा ३६ गाई भैंसी र राँगो खरिद गर्नुपर्ने जानकारी दिदै उनले असार १५ सम्ममा आयोजनाको सबै काम पूरा गर्न आग्रह गरे । उनले खर्च कम गर्नको लागि मेसिन औजार घटाउन सकिने बताए ।रुपा गाउँपालिका वडा नम्बर २ का सदस्य बुद्धिमाया गुरुङले कृषक समूहको समूहगत व्यवसायिक लगानी प्रतिसेयर सदस्यको माया हुनुपर्ने बताइन् । सामूहिक र संस्थागत रुपमा काम गर्न सुझाव दिँदै उनले किसानको गाई भैंसी पालन सफल भए रुपाको लागि उदाहरणीय बन्ने र आय आर्जनसमेत बढ्ने दाबी गरिने । कार्यक्रममा भोर्ले बहुउद्देश्यीय कृषक समूहका सदस्यहरु सवाबक्स मियाँ र तिलक खड्काले सामूहिक र संस्थागत रुपमा काम गरी समूहलाई देशले चिन्ने कृषक समूह बनाउने दाबी गरे ।