सुकमाया कामीलाई ६३ वर्षमा नागरिकता

सुकमाया कामीलाई ६३ वर्षमा नागरिकता

sukmaya nepali

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ठूलाकोटमा जन्मनुभएकी सुकमाया कामीले ६३ वर्षको उमेर नागरिकता पाउनुभएको छ ।नागरिकता पाउँदा उहाँ निकै खुसी देखिनु हुन्छ ।

पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयले नागरिकता दिन जिल्ला प्रशासनमा सिफारिस गरेपछि उहाँले नागरिकता पाउनुभएको हो । उहाँको श्रीमानको निधन भइसकेको, विवाह दर्ता र जन्म दर्ता पनि नहुँदा नागरिकता बनाउन समस्या भएपछि वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराल र निवर्तमान वडाध्यक्ष धनबहादुर नेपाली साक्षी बसेर उहाँको नागरिकताको लागि सिफारिस गर्नुभएको हो ।

४ छोरीकी आमा सुकमायालाई नागरिकताप्रति खासै चासो नभएपनि उहाँको नातिनीको नागरिता बनाउन समस्या भएपछि नागरिकताको खोजी भएको हो । जेठी छोरीसँग पोखरा ९ शान्तिवनमा बस्दै आउनुभएकी सुकमायाको विवाह ४० वर्षअघि पोखरा–५ मालेपाटनका फूलबहादुर नेपाली (नानीबाबु)सँग भएको थियो । उहाँहरु मालेपाटनस्थित वाराही माविको चौरनजिकै बस्दै आउनुभएको थियो । निवर्तमान वडाध्यक्ष नेपालीका अनुसार उहाँको परिवार करिब ३० वर्ष अघि पोखरा ११ फूलबारीमा सरेको र सुकमायाका श्रीमानको २०७१ सालमा निधन भएको हो ।

सुकमायाको आमा बुद्धिसरा कमिनीको नागरिकता फेला पर्नु र पोखरा ५ कै बासिन्दा बादुरे नेपालीको छोरा फूलबहादुर नेपाली भएको छरछिमेक र जान्नेबुझ्नेले बताएपछि वडा कार्यालयले नागरिकताको लागि सिफारिस गरेको हो । सुकमायाको आमाको नागरिकताको अभिलेख नै उहाँलाई नागरिकता दिलाउने बलियो आधार भएको वडाध्यक्ष बरालले बताउनुभयो । करिब ४ महिनाको निरन्तरको प्रयासपछि उहाँले नागरिकता पाउनुभएको निवर्तमान वडाध्यक्ष नेपालीको भनाइ छ । “नागरिकताको लागि प्रमाण जुटाउन सुकमाया जहाँजहाँ बस्नुभयो, त्यहाँ पुग्य‌ाै,” नेपालीले भन्नुभयो,“ प्रहरी कार्यालयदेखि विभिन्न ठाउँमा गरेर ६ वटा त मुचुल्क गरिएको छ ।”

सुकमायाको नागरिकता भएपछि उहाँका छोरी र नातीनातिनीकोपनि नागरिकता बनाउन सहज हुने वडाध्यक्ष बरालले बताउनुभयो । सुकमायाकी जेठी छोरी विष्णु नेपालीले आमाको नागरिकता बनाउन जिल्ला प्रशासन र वडा कार्यालयहरुमा धेरै धाएको बताउनुभयो । उहाँले वडा नम्बर ५ का अध्यक्ष बराल र निवर्तमान वडाध्यक्ष नेपालीकै प्रयासमा आमाले नागरिकता पाएको बताउनुभयो । विष्णुको पोखरा १९ मा विवाह भएको हो भने उहाँको पनि नागरिकता बनेको छैन । अब भने आफू र सन्ततीको नागरिकता बनाउन सहज हुने छोरी विष्णुले बताउनुभयो । विष्णुकी छोरी कञ्चनको नागरिकता बनाउनका लागि वडा कार्यालयमा जाँदा बल्ल आमा सुकमायाको नागरिकताको खोजी भएको हो ।

प्रतिक्रिया

भर्खरै