पोखरा । दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल भएका हुन् ।
मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित निकाल्यो । १ सय ६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९ दशमलव २ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको हो । टस हारेर ब्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ६२ रन बनायो ।
मंगलबारको दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबलाई ४ विकेटले हरायो । १ सय ३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रनका साथ लक्ष्य भेटायो । टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । चार समूह बनाएर १६ टिमलाई विभाजन गरिएको छ भने समूह ए बाट अपराजित रहँदै सिइसी काठमाडौँ सेमिफाइनलमा पुगिसकेको छ । प्रत्येक समूहमा विजेता बन्ने टिम मात्र सेमिफाइनलमा खेल्न पाउनेछ । खेल वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।