पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ । फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।आवेदन दिनेमा प्राध्यापक प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा ईन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला छन् । तनहुँको शुक्लागण्डकी घर भएका प्राध्यापक गौतम त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन भइसकेका व्यक्ति हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा समेत लामो समय पढाएका उनी रेडक्रस लगायत सामाजिक संस्थामा क्रियाशील छन् । पोखरा घर भएका प्राडा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् । प्राडा नवराज देवकोटा गण्डकी विश्वविद्यालयकै उपकुलपति हुन् । गोरखा घर भएका उनी यसअघि रामपुर कृषि क्याम्पसमा आवद्ध थिए । कास्कीको मादी घर भएका सहप्राध्यापक कृष्णप्रसाद अधिकारीले भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरमा पढाउँछन् । पर्वतका प्राडा कुसुमाकर न्यौपाने पृथ्वीनारायण क्याम्पस नेपाली विभागका पूर्व विभागीय प्रमुख हुन् ।
लोक साहित्यको क्षेत्रको अध्ययन अनुसन्धामा लामो समयदेखि क्रियाशील उनी अहिले पोखराको फूलबारीमा बस्छन् । कास्कीको लेखनाथका प्राडा ईन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ । पोखरा ५ पस्र्याङ घर भएका प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुन् । अंग्रेजी साहित्यमा विद्यावारिधि प्राप्त कोइराला यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धामा समेत सामेल थिए । विश्वविद्यालयबाट गठित कुलपति सिफारिस समितिले ‘ गण्डकी विश्वविद्यालयको कुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८१’ अनुसार आवेदन आह्वान गरेको थियो ।
संस्थापक कुलपति कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनुअगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो । गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषद अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ ।
जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषद सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोक सेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् । समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर दरखास्त आह्वान गरिएको हो ।