पोखरा । ‘सनातन हिन्दू धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा पोखरामा भएको छ । विश्व हिन्दू महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित प्रतियागितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम हुनु भएको छ ।
प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दीप शिखा क्षेत्री द्वितीय र नेसनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय हुनु भयो । महर्षी गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना हुनु भयो ।
विजेता विद्यार्थीलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक÷एक हजार रुपैयाँ नगद, प्रमापत्रसहित केदारेश्वर महादेव मणि, बैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्रा.डा. भोलानारायण रेग्मी लगायतले सूर्य–प्रेम पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आर्फैमा महान ग्रन्थ भएको धारणा राख्नुभयो । विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दू संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताउनुभयो ।
विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुुभयो । पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उहाँले जानकारी दिनुभयो । निर्णायक समितिका संयोजक सह प्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । हिन्दू धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उहाँले यो धर्म नै सनातन धर्म भएको धारणा राख्नुभयो ।
विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको अध्यक्षता एवम् महासचिव भुपेन्द्र गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णयक समितिका सदस्यद्वय जीवनका लागि गीता ज्ञान अभियान गण्डकी प्रदेश समिति संयोजक उपप्राध्यापक डा. ज्यो हरिश्चन्द्र भण्डारी र उपप्राध्यापक गणेश शर्मा सुवेदी लगायतले सनातन हिन्दू धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको थियो ।