पोखराबाट चिनको छेन्दु हप्तामा एउटा चार्टर उडानहुँदै

पोखराबाट चिनको छेन्दु हप्तामा एउटा चार्टर उडानहुँदै

pokhara chengdu flight news photo

पोखरा । चिनको सिचुवान प्रान्तको छेन्दुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी चैतदेखि हप्तामा एउटा चार्टर उडानको कार्यतालिका बनाइएको छ । विमानस्थल बनेको २ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा चिनियाँ दूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा चार्टर उडान गर्न लागिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार तीन महिनासम्म हप्तामा एउटा चार्टर उडान हुनेछ । तीन महिनाको अवधिमा करिब १ हजार २ सय ५० चिनियाँ पर्यटक छेन्दुबाट सिधा पोखरा विमानस्थलमा अवतरण गराउने प्रयास थालिएको उहाँले बताउनुभयो । आगामी चैत ५ गते छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु चार्टर उडान हुन लागेको छ ।

चैत ५ गते सिचुवान एयरलाइन्सको विमानले १ सय २७ चिनियाँ पर्यटक लिएर पोखरा विमानस्थलमा अवतरण गर्नेछ । उक्त विमानले सोही दिन १ सय २७ जना नेपालका पर्यटन व्यवसायीलाई लिएर छेन्दु उडने पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिनुभयो । चैत ५ गतेदेखि हप्तैपिच्छे एउटा चार्टर उडान गराउने तालिका बनाइएको सापकोटाको भनाइ छ ।

चैत ५ गतेको पहिलो व्यावसायिक चार्टर उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पाद समिति संयोजक गोपीबहादुर भट्टराईं, पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारी लगायत पर्यटन व्यवसायी उक्त उडानमा सहभागी हुनेछन् । उनीहरु छेन्दु, लुझोउ, इमि, लिसन, छोङछिङ ठाउँमा घुमफिर गर्नुका साथै पर्यटन विकास बारे जानकारी लिनेछन् । एक हप्ताको प्याकेजको अवधिमा नेपाल इभिनिङ र सेल्स मिसन कार्यक्रम पनि आयोजना गरिने महासचिव सापकोटाले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नतेृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिसहित उहाँका समकक्षीसँग भेटवार्ता र महत्वपूर्ण विषयमा छलफलसमेत हुनेछ । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर उडान गरेर त्यसलाई नियमित व्यावसायिक उडानमा परिणत गराउन पहल गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले अहिले हुने उडानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नुका साथै गण्डकी प्रदेशकै पर्यटनलाई चलाएमान बनाउने विश्वास व्यक्त गर्नुभयो । गत फागनु ३ गते एक समारोहबिच पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक दर्जन अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् भने आन्तरिक रुपमा काठमाडौं, नेपालगञ्ज, भरतपुर, भैरहवा उडान हुँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै